धनकुटा : धनकुटाका क्रियाशील ३३ जना पत्रकाहरुको सामूहिक कोरोना बिमा गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको समन्वयमा जनज्वोती बचत तथा ऋण सहकारी संस्थाले पत्रकारको कोरोना बिमा गरी दिएको हो । सहकारीले कोरोना महामारीका बेला जिल्लामा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका धनकुटाका पत्रकारको कोरोना बिमा गरेको हो ।

जिल्लाका ३३ जना पत्रकारको एक–एक लाख रुपैयाँको वार्षिक बिमा गरिएको पत्रकार महासङ्घ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले जानकारी दिए । बिमाका कारण अग्रपङ्क्तिमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई हौसला मिलेको उनले बताए ।

शनिवार बिमा लेख हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष विकास घिमिरेले महामारीका बेला स्वास्थ्य, सुरक्षा र सञ्चार अग्रपङ्क्तिमा रहेर खटिएको सञ्चारबाहेकको क्षेत्रलाई मात्रै राज्यले सेवा सुविधाको व्यवस्था गरेको छ, त्यसैले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारहरूको बिमा गरेको बताए । सहकारीका अध्यक्ष घिमिरे धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष समेत रहेका हुन् ।