धरान : कोरोना सङ्क्रमण तीव्र गतिमा बढी रहेको सप्तरी जिल्लामा दैनिक १ सय देखि २ सय सम्म मानिस भारतबाट आउने क्रम बढेपछि झन् समस्या थपिएको छ ।

भारतबाट सप्तरी जिल्ला आइपुग्ने अधिकांश जिल्लाबासी सर्वसाधारण कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले कपुरी न्युजलाई बताए । सप्तरी जिल्लामा १६ वटा पालिकाहरूमा २ हजार ९ सय ६५ बेड क्षमताको क्वारेनटाइन तयारी भए पनि दैनिक भारतबाट आउनेहरूलाई क्वारेनटाइनमा राख्न समस्या हुने प्रमुख यादवले बताए ।

सप्तरी जिल्लामा मात्रै एक साताको अन्तरमा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । सङ्क्रमितहरूलाई अस्पतालमा ल्याएर उपचार गराउने ठाउँ अभाव भएकोले अहिले सम्म पछिल्लो सङ्क्रमितहरू बोदेवर्साईन नगरपालिकामा ९ जना र डाक्नेश्वरीका ९ जना गरी १८ जनालाई क्वारेनटाइनमै आइसोलेसन बनाएर राखिएको छ । यसरी सङ्क्रमितलाई अस्पतालमा लगेर राख्ने ठाउँ नहुँदा झन् जोखिम बढेको प्रमुख यादवले बताएका छन् ।

राजविराजमा रहेको शाही कृष्ण प्रस्तावित मेडिकल कलेजमा नेपाली सेनाले तीव्र गतिमा आइसोलेसन तयार गरीरहेका छन् । आइतबार साँझ सम्ममा १ सय बेड सञ्चालन गर्न सकिने अवस्था रहेको बताइएको छ ।
पछिल्लो समय सप्तरीमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्नुको मुख्य कारण क्वारेनटाइनमा बसेकाहरूलाई समयमै कोरोनाको परीक्षण नगरिँदा क्वारेनटाइनबाटै पनि सङ्क्रमण बढ्न थालेको बताइएको छ ।

अझ सप्तरी जिल्लामा २ सय बढीको स्वाबको स्याम्पल लिएको भए पनि परीक्षण ल्याबहरूले नगरीदिना स्वाब नै कुहिन लागेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए । सप्तरीको अवस्थाको बारेमा प्रदेश सरकार र सङ्घीय सरकार गम्भीर हुनुपर्ने अवस्था आएको प्रमुख यादवको भनाई छ । उनी भन्छन् भारतबाट आएका जिल्लाबासी अधिकांश सङ्क्रमित छन् । सप्तरी जिल्लाका मात्रै ५० हजार बढी भारत गएका छन् । उनीहरू सबै फर्किए भने हालत के होला ?