धरान : धरान उपमहानगरपालिकाको कुल जनसङ्ख्याको ३ प्रतिशत नगरबासीको पिसिआर परीक्षण गरिने भएको छ ।

धरान उपमहानगरपालिकाको आइतबार बसेको नगर कार्यपालिकाको बैठकले यस भन्दा अघि २ प्रतिशत भनिँदै आएकोमा त्यो थोरै हुने भन्दै ३ प्रतिशतको पिसिआर विधिद्वारा कोरोना परीक्षण गरिने निर्णय भएको छ । पिसिआर परीक्षण गर्नकालागि भिटिएम खरिद गर्ने पनि निर्णय भएको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताएका छन् ।

सार्वजनिक महत्त्वको यो एजेन्डा पारित भएपछि भने कार्यपालिका बैठकले अर्को एजेन्डामा निर्णय नभएको बताइएको छ । धरानका खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाउने बैठकमा अर्को एजेन्डा थियो । तर, उक्त एजेन्डामा प्रवेश गर्नुअघि नै कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले खानेपानी संस्थानलाई बोर्डमा गाँभ्न किन ढिलाइ भएको भन्दै कुरा उठाउन थालेपछि थप एजेन्डामा छलफल हुन नपाई कार्यपालिका बैठक स्थगित भएको ९ नम्बर वडाध्यक्ष रत्न कटुवालले बताएका छन् ।

उनका अनुसार नगर सभामा खानेपानी संस्थानलाई खानेपानी बोर्डमा फागुन मसान्त सम्ममा गाभ्ने बताइएको थियो अहिले सम्म खानेपानी संस्थान बोर्डमा नगाभिएकोमा वडाध्यक्षहरूले कुरा उठाएपछि कार्यपालिका बैठकले अरू निर्णय नगरी बैठक स्थगित भएको हो ।