झापा : यतिवेला पूर्वको मुख्य प्रवेश नाका काकरभिट्टाबाट दैनिक सैयौं नेपाली नागरिकहरू भारतबाट प्रवेश गरिरहेका छन् । तर यसरी भित्रिएका उनीहरूलाई सामान्य स्वास्थ्य जाँच बिना नै नेपाल छिरिरहेका छन् ।

सुरुका केही दिन पूर्वी नाका कांकरभिट्टामा थर्मलगनको प्रयोग गर्दै लाइन लगाएर तापक्रम नापिए पनि अहिले नेपाल प्रवेश गर्ने मानिसको सामान्य तापक्रम समेत परीक्षण हुँदैन । मेचीनगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै कोरोना सहायता कक्ष स्थापना गरे पनि काम भने भएको छैन ।

सहायता कक्षमा कार्यरत एक कर्मचारीका अनुसार भारतबाट भित्रिने नेपाली नागरिकको अहिले स्वास्थ्य परीक्षण गर्न छाडिएको छ । केहिदिन अघिसम्म सवारी चालक तथा सहचालकको स्वास्थ्य जाँच गरिँदै आए पनि अहिले सो कामसमेत बन्द छ । अहिले भारतबाट आएका चालक तथा सहचालकको मात्रै स्वास्थ्य जाँच गर्ने गरेको बताइएको छ ।

काकरभिट्टाका स्थानीयवासी यसै कारण पनि त्रासमा बस्न बाध्य बनेका छन् । प्रहरीले प्रभावकारी काम नगर्दा कोरोनाको त्रास बढ्दै गएको स्थानीयको गुनासो छ । साँझ परेपछि प्रहरीले नेपालीलाई नेपाल भित्र्याउने गरेको गुनासो उनीहरुको छ ।

इलाका प्रहरी कार्यालय कांकरभिट्टाका एक प्रहरी अधिकारीका अनुसार व्यवस्थापनमा समस्या भएकै कारण सामान्य स्वास्थ्य परीक्षण समेत हुन नसकेको हो । उनका अनुसार पुलसम्म गाडी लिएर सोझैँ गन्तव्य पठाइने गरेको छ ।

यसअघि जिल्ला समन्वय समिति झापाले नेपाल भित्रिने नेपालीलाई स्वास्थ्य परीक्षण गरेर मात्रै नेपाल भित्र्याउने र अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरे पनि पछि आफ्नै निर्णयबाट पछि हट्नुपरेको छ ।

सामान्य स्वास्थ्य जाँच समेत नगरी सयौँको सङ्ख्यामा नेपाली भित्रिदा कोरोना संक्रमणको जोखिम बढेको छ । लकडाउन भए यता मात्रै करिब दुई हजार पाँच सयभन्दा धेरै नेपाली नेपाल प्रवेश गरिसकेको प्रहरीले जनाएको छ ।