हाल विश्वभरमा नै 'गो ग्रिन', 'गो नेचर', 'गो नेचुरल्ली’, 'ब्याक टु नेचर’ आदिको नारासहित नयाँ अभियान सुरु भएको छ । यस कार्यमा चेतनाको वृद्धिदर पनि बढी रहेको देखिन्छ । चाहे त्यो खानेकुरोमा होस्, वा पिउने कुरोमा होस्, वा शरीर ढाक्ने कपडा अथवा भनौँ मानिसहरूले आफूले लगाउने लत्ता-कपडा, जुत्ता-चप्पल, पैसो बोक्ने ब्याग, बाहिरफेर जाँदा बोक्ने ठुला झोला आदिका लागि पनि मान्छेहरूले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (घर बुना) आदि लगाउने प्रचलन सुरु भएको छ । यो क्रम बढ्दै गएको देखिन्छ । त्यसैले भन्न सकिन्छ अब फेरि मानिसहरू आधुनिक जमानाको नाममा आफु खुसी जथाभाबी गर्ने भन्दा पनि फेरि प्रकृति र प्रकृतिको नियमअनुसार चल्न थालेका छन् ।

यसरी हाल विश्वभरि नै चलेको ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारा र नयाँ अभियानको चर्चा गर्दा मानिसहरूले आफूले लगाउने लत्ता-कपडा, जुत्ता-चप्पल, पैसो बोक्ने ब्याग, बाहिरफेर जाँदा बोक्ने ठुला झोला आदिका लागि पनि मान्छेहरूले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी आदि लगाउने प्रचलन सुरु भएको छ । यो क्रम बढ्दै गएको छ भनी माथि नै उल्लेख भएको छ । त्यसैले यहाँ अरू कुरो (अल्लो/सस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (आदि) लाई छाडेर ‘नेपाली ढाका कपडा’बारे केही लेख्ने जमर्को गरिएको छ ।

यसरी हेर्दा ‘तेह्रथुमे ढाका’, ‘पाल्पाली ढाका’ आदिबारे हामीले धेरै अघिदेखि सुन्दै आएको र केही हदसम्म यिनै नामहरूले नेपाल लगायत विश्व बजारमा नेपाली ढाका कपडाले बजार पिटेको भए तापनि हाते तान बुन्ने काम मानव सभ्यताको विकाससँगै विश्वभरि नै आदिवासी जनजातिहरूमा विकास भएको मानिन्छ । त्यसमा पनि हाम्रो देश नेपालको सन्दर्भमा भन्नु पर्दा विशेषतः कुलुङ (कूलू), लिम्बु (याक्थुङबा), सुनुवार (कोईँच) लगायत किरातीहरुको उत्पत्ति कथा/लोक कथा (मिथक) मै हाते तान बुन्ने गरेको लोक कथा छ ।

हुन पनि आधुनिक भनिएको जमानाले गाऊँ-घरलाई असर नपार्दासम्म हाम्रो गाऊँ-घरमा घरघरै एक-दुई वटा हाते तान हुन्थे । तर, नेपाल लगायत विश्व बजारमा आजभन्दा ३५/३६ वर्ष अघिदेखि ढाका कपडाको मामलामा तेह्रथुमे ढाका’, ‘पाल्पाली ढाका’को नाम सुनिन्थ्यो । यो सत्य हो । तर, आज तेह्रथुमे ढाका’, ‘पाल्पाली ढाका’को नाम सँग-सँगै आज आएर बजारमा अनेक नाममा ढाका कपडाको उद्योग-व्यवसाय सञ्चालनमा छन्, उनीहरू झन् अघि बढेर विश्व बजार पिट्दै छन् । अझ खासमा भन्ने हो भने, पाल्पाली ढाका त आजभोलि ओझेल परेझैँ लाग्छ । किनभने, पाल्पाली ढाकाको नाम आजभोलि ढाका कपडा बजारमा अलि कम सुनिन्छ । 

जस्तै ढाका कपडा र ढाकाजन्य उत्पादनको सम्बन्धमा भन्नु पर्दा पाँचथर जिल्लाको थर्पु गाऊँ कि कल्पना योङहाङ लिम्बु उदाहरणको रूपमा लिन सकिन्छ । उनलाई हालको अवस्थामा ढाका कपडा र ढाकाजन्य उत्पादनले विश्व बजारमा अकल्पनीय ढङ्गले उदाई रहेकी छिन् । उनी अर्थात् कल्पना योङहाङ लिम्बु ढाका कपडा र ढाकाजन्य बजार पिट्ने एक सफल उद्योगीका रूपमा स्थापित भएकी छिन् । स्मरणीय छ, उनले विसं २०६२/०६३ देखि महिलाहरूले सञ्चालन गरेको सहकारीबाट १५,००० (पन्ध्र हजार) रुपैयाँ ऋण लिएर ढाका कपडा बुन्न (लिम्बु भाषामा ‘थाक थाक्मा’ भनिन्छ ।) सुरु गरेकी थिइन भने, वि.सं २०६४ मा घरेलु तथा साना उद्योगमा गएर ‘द हाईल्यान्ड आर्ट’ नामक संस्था दर्ता गरेर संस्थागत रूपमै ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागिन् ।

हाल उनले काठमाडौँ गोकर्णमा ढाका कपडा र ढाकाजन्य उद्योग सञ्चालन गरी रहेकी छिन् । जहाँ लगभग २०० जना मानिसहरूले नियमित रोजगार पाई रहेका छन् । नेपाली ढाका र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि कल्पना लागीपरेकी छिन् । यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’कै मातहतमा रहने गरी ‘कल्पना ढाका बुटिक’ नामक फेसबुक पेज पनि खोलेकी छिन् । त्यही फेसबुक पेजबाटै उनी ढाका कपडा र ढाकाजन्य उत्पादनको बजार व्यवस्थापनमा लागेकी छिन् । त्यसो त ११-१२ वर्षको छोटो अवधिमै ढाका र ढाकाजन्य उत्पादनलाई प्रचार, प्रसार र बजार व्यवस्थापन गर्नका लागि कल्पनाले विश्वका ३५ वटाभन्दा बढी देश घुमी सकेकी छिन् ।

अहिले ढाकाजन्य उत्पादन अन्तर्गत केके उत्पादन हुन्छ ? भनी प्रश्न गर्दा कल्पना भन्छिन् ‘टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, स्कर्ट, मिनी स्कर्ट, ओभर कोट, सल, इस्टकोट, मेख्ली, कोट, ज्याकेट, सुरुवाल, मफलर, पेटी, म्याक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसामान तयार हुन्छ ।

Dhaka-terathum-2

’सबैलाई थाहा भएकै कुरो हो कि, अहिले विश्वलाई नै कोरोनाले आक्रान्त पारेको छ । अधिकांश देशमा लकडाउन र सङ्कटकाल लागू भएको छ । तर, यो लकडाउनको समयमा पनि ढाकाको उत्पादन गर्ने (बुन्ने) काम र अनलाइन मार्फत विभिन्न देशबाट अर्डर आउने क्रम जारी छ भन्छिन्, ‘-कल्पना योङहाङ लिम्बु ।’ त्यसैले आगामी दिनमा कल्पना योङहाङ लिम्बुको मात्रै नभएर नेपालको सबै ढाका कपडा उद्योगी-व्यवसायीहरूको उन्नति र प्रगति अरू बढ्दै जाओस्, उनीहरूले विश्व बजार पिटुन् भन्ने अग्रिम शुभकामना छ ।