इटहरी : प्रदेश नम्बर एकको प्रदेश सभाका सदस्यले स्थानीय उत्पादनमा उपभोगमा राज्यले स्पष्ट नीति नबनाएको गुनासो गरेका छन् ।

ताप्लेजुङबाट निर्वाचित प्रताप प्रकाश हाङगामले प्रदेशको नीति तथा कार्यक्रममा बोल्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने माग गरेका हुन् । लोकल (स्थानीय) मदिरालाई निषेध र विदेशी मदिरालाई सहजताका साथ आयात भएको बताउँदै लोकल रक्सीलाई पनि उत्पादन सँग जोड्नु पर्ने धारणा राखेका थिए ।

'अब यहाँ लोकल चैँ खानु नहुने रे, विदेशी चाहिँ बेस्मारी कहाँ हुने रे' रक्सीको आयातको विषयमा सङ्केत गर्दै हाङगामले भने 'कस्तो खालको हाम्रो नीति आफ्नै चैँ खान नहुने ।'

मदिरा मात्र हैन हाङगामले प्रदेश सभाका सदस्यहरूलाई नेपालमै उत्पादित ढाकाको कपडा लगाएर संसद् भवनमा आउनु पर्ने नियम बनाउन आग्रह गरेका थिए । दुई चार रुपैयाँको लोभमा नेपाली बजारमै सहजै पाउने सामान किन्न पनि भारत तिरै जानु पर्ने बानीको समेत उनले विरोध गरेका थिए ।

हाङगामले भने 'जोगबनी आजकाल बन्द भएको छ, नत्र चिनी किन्न गयो त्यही, लुगा किन्न गयो त्यही त्यसैले हामीले स्थानीय उत्पादनमा प्रोत्साहन गर्नु पर्छ।'