इटहरी : प्रदेश नम्बर एकको प्रदेशसभामा आइतबार देखि नीति तथा कार्यक्रममा छलफल सुरु भएको छ ।

शुक्रवार सरकारको तर्फबाट प्रदेश प्रमुखले पेस गरेको नीति तथा कार्यक्रममा आजबाट छलफल सुरु भएको हो ।
नीति तथा कार्यक्रममा सांसदहरू बिच छलफल चलिरहेको रहँदा विगत जस्तै सत्तापक्षका र प्रतिपक्षका सांसदहरू नीति तथा कार्यक्रमको समर्थन र विरोध गरिरहेका छन् ।

आइतबार प्रदेशसभाको बैठकमा सत्तापक्षका सांसदले नीति तथा कार्यक्रमको फ़्ल्याइङ्ग किस दिँदै पूर्ण रूपले समर्थन गरेका थिए । नेकपाका सांसद सर्वध्वज साँवाले कोरोनाको विषम परिस्थितिमा सरकारले बृहत् क्षेत्र समेटेर नीति तथा कार्यक्रम ल्याउन सकेको भन्दै त्यसलाई ‘फ्लाइङ किस’ दिएर समर्थन गरेका हुन् ।
प्राय हँस्यौली पारामा संसद्मा बोल्ने गरेका साँवाले प्रतिकूल समयमा सरकारले उच्च स्तरको नीति तथा कार्यक्रम ल्याएको भन्दै अनौठो पारामा फ्लाइङ किस दिएर सरकारको प्रशंसा गरे ।

'ठुला देशहरूमा समेत संसद् चल्न सकेको छैन ?,'यस्तो परिस्थितिमा आएको नीति तथा कार्यक्रमलाई म फ्लाइङ किस दिन चाहन्छु ।' यति भन्दा भन्दै उनले रोस्ट्रमबाटै २४ बुँदा ४८ पन्नाको नीति तथा कार्यक्रम बहुत राम्रो भएको भन्दै हात उठाएर फ्लाइङ किस दिएका थिए ।

फ्लाइङ किस दिँदा संसद्मा उपस्थित सबै सांसदहरू हासेका थिए । नीति तथा कार्यक्रमको आलोचना गरेका काँग्रेसका संसदहरुपनि साँवाको प्रस्तुति हेरेर हाँसिरहेका थिए । सांसद साँवाले 'नीति कार्यक्रमलाई छातीभरि माया दिन अँगालोमा बाँध्न चाहन्छु' भन्दा सदनमा हाँसोमा फोहरा छुटेको थियो ।

सदनमा सहभागी मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की आपसमा मुखामुख गर्दै मुस्कुराएका थिए । विपक्षी सांसदको मुखमा पनि हाँसो देखिन्थ्यो ।