प्रकाशपुर : बराहक्षेत्र नगरपालिका १० स्थित प्रकाशपुरको क्वारेनटाइनमा न्यूनतम मापदण्ड प्रति नेपाली काङ्ग्रेसले ध्यानाकर्षण गराएको छ । प्रकाश माविमा बनेको क्वारेनटाइनमा अत्यावश्यक सुविधा समेत नभएको भन्दै नेपाली काङ्ग्रेस बराहक्षेत्र १० ले तत्काल सच्याउन आग्रह गरेको छ ।

काङ्ग्रेसका अनुसार क्वारेनटाइनमा सामाजिक दुरी देखि सुरक्षा व्यवस्था कमजोर भएको बताउँदै तत्काल सुरक्षाकर्मी थप गर्न माग गरेको हो । बराहक्षेत्र १० का काङ्ग्रेस सभापति तेज गुरुङको नेतृत्वले बराहक्षेत्र १० को वडा कार्यालयमा बुझाएको ज्ञापन पत्रमा तत्काल समन्वय गरेर सुरक्षाको अनुभूति गराउन माग गरिएको छ ।

सुरक्षाकर्मीको सङ्ख्या कम भएकाले क्वारेनटाइनमा बसेका व्यक्तिहरू पर्खाल नागेर बाहिर निस्किने गरेको सूचना समेत पाइएकाले तत्काल व्यवस्थापन गर्न माग गरिएको छ । ज्ञापन पत्रमा क्वारेनटाइनमा काम गर्नेहरू लाई समेत सुरक्षित राख्न आग्रह गरिएको छ ।