धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थाे अव्जरभेसन वार्डमा उपचारका लागि आएकी कोरोना सङ्क्रमित बालिका राखिएको वार्डमा कन्ट्याक ट्रेसिङ गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बराहक्षेत्र नगरपालिका वडानं. ७ की ७ वर्षीय बालिकाको खुट्टा भाँचिएर उपचारका लागि प्रतिष्ठानको अर्थाे अव्जरभेसन वार्डमा भर्ना भएकी थिइन् । उनको खुट्टाको अप्रेसन गर्नु पहिले कोरोना परीक्षण गर्दा उनीमा कोरोना पोजेटिभ देखिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार पहिलो चरणमा करिब ६४ जनाको पिसिआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । सो वार्डमा कार्यरत सुरक्षा गार्ड, चिकित्सक, बिरामी र बिरामीका कुरुवाहरूको पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य प्रोटोकल अनुसार सो वार्डमा सेनिटाईज गर्नुपर्ने हुन्छ । सो अनुसार २,३ पटक डिसइन्फेक्ट गरिसकिएको हाड जोर्नी विभागका प्रमुख डा. पशुपति चौधरीले बताए । हिजो आइतबार पनि थप केहीको थ्रोट स्वाब लिइएकोले गर्दा त्यस्तो आत्तिनुपर्ने अवस्था नभएको डा. चौधरीले बताए । सो वार्डमा अहिले पनि पुरै बिरामी भर्ना भएकोले गर्दा सो वार्डलाई क्लियर नगरी अर्को भर्ना नगर्ने पनि उनले बताए ।