धरान : केही दिन अघि विभिन्न मापदण्ड अपनाएर सुनसरी उद्योग वाणिज्य सङ्घ र धरान उपमहानगरपालिकाले बिहान ९ बजे देखि दिउसो २ बजे सम्म बजार खुल्ला गर्ने निर्णय गरेको आज दोस्रो दिन बजार अव्यवस्थित तरिकाले खुल्ला भएको छ ।

बजारमा सामान्य सामाजिक दुरी भनिँदै आएको र दोकान अगाडी हत धुने साबुन पानी, डोरी लगाएको हुनुपर्ने र अनिवार्य मास्क र स्यानिटाइजर पसलमा राखिनुपर्नेमा कहीँ कतै यस्ता पाईएन् ।  बजार खुल्ला भएपछि त्यही अनुपातमा मानिसहरू पनि बजारमा निस्किएका छन् भने सामाजिक दुरीको त कुरा परै राखौ थोरै दुरी पनि निर्धारण गरेर सर्वसाधारण उभिएको पाइँदैन ।

वित्तीय संस्थाहरूमा बढेको भिडले झन् अर्को जोखिम निम्त्याउने सम्भावना छ । अत्यावश्यक र आवश्यक पसल मात्रै खोलिने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भने पनि के लाई आवश्यक र के अनावश्यक त्यही छुट्टाउन गाह्रो देखिएको छ ।

बजारमा नजानिँदो तरिकाले भिड बढेको छ । सवारी साधनको कुरा गर्ने हो भने धरानको मुख्य बजारको सडक काट्न निकै हम्मे हम्मे पर्ने गर्दछ । भर्खरै इलाका प्रहरी कार्यालय धरानमा आएका नयाँ डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले सवारी साधन सञ्चालन नहुने भनेको भए पनि बाटोमा ठाउँ नपाइने गरी ट्याम्पो, मोटरसाइकल चलेका छन् ।

उदयपुरमा कोरोना सङ्क्रमण भेटिदा धरानको चतरा सडक खण्ड सिल गर्ने धरान उपमहानगरपालिका अहिले आफ्नो ठाउँमा कोरोना सङ्क्रमित भेटिदा समेत त्यति गम्भीर नबनेको सर्वसाधारणको आरोप छ ।
पछिल्लो समय सर्वसाधारणको सहजताका लागि भनेर बजार बिहान ७ देखि ९ बजे सम्म अत्यावश्यक सामान खरिद बिक्रीका लागि र बिहान ९ बजे देखि दिउसो २ बजे सम्म आवश्यकता अनुसार बजार खोल्ने निर्णयले धरानमा कोरोना सङ्क्रमणको झन् जोखिम निम्त्याएको महसुस हुने गरी बरामा भिड बढेको छ ।

यसका लागि सम्बन्धित निकायले सामान्य मापदण्ड पनि पुरा नगरेका त्यस्ता पसल र सर्वसाधारणलाई कारबाहीको दायरामा ल्याउनु पर्छ । यदि यसो हुन सकेन भने यसले भोलि धरानमा झन् ठुलो समस्या निम्त्याउने छ भन्दा दुई मत नहोला ।

Drn-Bazar-1 Drn-Bazar-2 Drn-Bazar-3 Drn-Bazar-4 Drn-Bazar-6 Drn-Bazar-5 Drn-Bazar-8 Drn-Bazar-7 Drn-Bazar-9