धरान : मोरङमा थप ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सोमबार मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २–२ जना र धनपालथान गाउँपालिकामा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । लेटाङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार नगरपालिकामा ३० र २९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमित पुरुष ४ जेठमा आएका थिए । उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो ।

धनपालथान गाउँपालिकामा ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट आएका तीन पुरुष एक ३० वर्षीय महिला र १२ वर्षीय बालकमा पनि कोरोना सङ्क्रमण देखिएको गाउँपालिका सिनियर अहेब ऋषिराज सेठले बताएका छन् ।

त्यस्तै रतुवामाई नगरपालिकामा थप २ जनामा सङ्क्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले बताएको छ । रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले सोमबार नयाँ सङ्क्रमितका बारेमा आधिकारिक जानकारी आएको बताए ।

उनले आइतबार बेलुका दुई जनामा सङ्क्रमण देखिएको जानकारी दिए । सोमबार ९ जना थप भएसँगै मोरङमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।