धरान : प्रदेश १ मा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढीरहेको अवस्थामा उपचार स्थलकोलागि पनि तीव्र तयारी भइरहेको छ ।

प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख सागर प्रसाईँका अनुसार विराटनगरको कोसी अस्पतालमा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ अस्पताल सुचारु भइसकेको र मेची अस्पतालमा कोभिड अस्पताल तयारी भइरहेको छ ।

यसै गरी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा आइसोलेसन अस्पताल पनि सञ्चालनमा आई सकेको छ । सुनसरीको बराहक्षेत्रमा १ सय ५० बेड क्षमताको आइसोलेसन सञ्चालन गर्ने तयारी भएको पनि प्रमुख प्रसाईँले जानकारी दिएका छन् ।

जस अनुसार कोसी अस्पतालको कोभिड अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा प्रदेश १ का विभिन्न जिल्लाका सङ्क्रमितहरूलाई भर्ना गरिएको छ भने दुई दिन अघिबाट मात्रै सञ्चालनमा आएको पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसन अस्पतालमा यो समाचार तयार पारुन्जेल ७४ जना पुरुष भर्ना भएको प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख सागर प्रसाईँले जानकारी दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयमा १ सय ५० बेड सम्मको विस्तार गर्न सकिने भनिए पनि मङ्गलवार सम्ममा १ सय २५ बेडको आइसोलेसन अस्पताल पुर्णरुपमा तयारी हुने बताइएको छ ।