इटहरी : लामो समय देखी धुलो र खाल्डाखुल्डीले भरिएको इटहरी चौक धुलोमुक्त भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र इटहरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा इटहरी चौक कालोपत्रे भएपछी धुलोमुक्त भएको हो ।

उवासंघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेलका अनुसार लामो समयदेखी खाल्डो र धुलो धेरै भएकोले त्यसको समाधान गरीएको हो । दुई संस्थाको समन्वयमा कान्छाराम कन्ट्रक्सनले कालोपत्रे गर्ने काम पुरा गरेको उनको भनाई छ ।

१५ दिन अगाडी नै इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरी ६ नम्बर वडाका वडाध्यक्ष सँग बसेर छलफल भए बमोजिम नै काम भएको उनले बताए । यो बिचमा सडक विभाग तथा उपमहानगरले समेत काम नगरेको कारण यात्रु तथा ड्युटीमा खटिने ट्राफिक प्रहरी धेरै प्रभावित भएकोले त्यसको समाधान गरिएको उनी बताउँछन् ।

मिडियामा गलत तरीकाले समाचार आइरहेको प्रति इङ्गित गर्दै उनले भने, ‘यो हामी सबैको समन्वयमा भएको काम हो । कसैको व्यक्तिगत भन्दा पनि सामूहिक पहल हो भन्ने बुझ्नुपर्छ ।’

करिब १० लाखको खर्चमा तिन तह सम्म कालोपत्रे गरिएको उनको भनाई छ ।