पथरी : लकडाउनका कारण राजस्व सङ्कलनमा गिरावट आएको भन्दै पथरीशनिश्चरे नगरपालिकाले वडालाई विनियोजन गर्ने बजेट कटौती गरेको छ । गत वर्ष नगरका प्रत्येक वडालाई १ करोड सिलिङ बजेट विनियोजन गरेकोमा यस वर्ष ७५ लाख मात्र बजेट विनियोजन गरिएको नगर प्रवक्ता याम प्रसाद गुरागाईले जानकारी दिए ।

प्रवक्ता गुरागाईका अनुसार चालु आर्थिक वर्षमा लक डाउनका कारण राजस्व र नगरको समग्र आम्दानीमा गिरावट आएका कारण पनि वडाको बजेट कटौती भएको हो । नगरले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्बन्धी छलफल अघि बढाएको छ ।

नगर कार्यपालिकाको बैठकले असार १० गते नगर सभा गर्ने निर्णय समेत गरेको छ । बैठकले, जेठ ३० गतेसम्ममा विषयगत समितिमार्फत नीतिगत विषय सहितको योजना र असार ५ गतेसम्ममा वडागत योजना तर्जुमा गरिसक्ने निर्णय गरेको छ ।