इटहरी : प्रदेश नम्बर एकको प्रदेशसभाको चालु बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रममा छलफल चलिरहेको छ । मङ्गलवार प्रदेश एकको नीति तथा कार्यक्रमको छलफलमा निजी स्वास्थ्य संस्थाहरूलाई राष्ट्रियकरण गर्नु पर्ने माग उठेको छ ।

काङ्ग्रेसबाट निर्वाचित सांसद सुयर्मा राज राईले निजी स्वास्थ्य संस्थाहरूलाई राष्ट्रियकरण गर्नु पर्ने माग उठाएका हुन् । महामारीको बेला निजी स्वास्थ्य संस्थाहरूले कुनै पनि सकारात्मक भूमिका निर्वाह गर्न नसकेको भन्दै राईले राष्ट्रियकरण गर्नु पर्ने माग गरेका हुन् ।

'यस्तो महामारीको बेला पनि निजी अस्पतालहरूले नागरिकको मौलिक हकको सम्बोधन गर्न सकेन' सांसद राईले भने ' हामी प्रदेशसभा बाट राष्ट्रियकरण गर्ने प्रस्ताव पारित गरेर सङ्घीय सरकार सँग लिएर जाऊँ ।'

स्वास्थ्य मात्र हैन राईले सभाको शून्य समयमा बोल्दै प्रदेशले कृषिलाई दिएको प्राथमिकतालाई दरिलो बनाउन थप प्रावधान ल्याउनु पर्ने माग गरे । उनका अनुसार सांसदहरू सबैलाई कृषि कर्ममा अनिवार्य रूपमा लगाउनु पर्ने बताए ।

'अन्य देशहरूमा प्रधानमन्त्री नै कृषिलाई प्राथमिक दिएर आफुपनि सोही कर्ममा लागेका छन् हामीले पनि त्यो मोडल अपनाउनु पर्दछ' राईले भने 'हामी सबै सांसदहरू कृषकहरूको लागि मार्गदर्शक बनेर कृषि कर्ममा नेतृत्व गरौँ ।'