धरान : विराटनगर-१५ रानी स्थित हुलास प्युरिफाइड वाटर इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गर्दै आएको प्रशोधित ‘हुलास’ पानीले उत्पादन लागत मूल्यभन्दा दोब्बर बढी मूल्य राखेर बिक्री गरेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा खटेको अनुगमन टोलीले २ लाख जरिबाना गरेको छ ।

मानव स्वास्थ्यलाई अति आवश्यक पर्ने पानीमा विराटनगरका अधिकांश पानी उद्योगहरुले हेलचेक्राइ गरेको अनुगमनको क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गएको टोलीले प्रशोधित हुलास पानी बिक्री गर्दा बढी मूल्य राखेर बिक्री गरेको पाएपछि २ लाख रूपैयाँ जरिबाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख तथा निरीक्षण अधिकृत हिमालय बरालले जानकारी दिए ।

 प्रा.लि.ले १ लिटरको मिनिरल वाटर होलसेल पसललाई १२/९१ रुपैयाँमा भ्याट बिल काटेको बिक्री गर्दै आएको छ । सोही पानी उपभोक्तालाई बिक्री गर्दा बोतलमा ३० रुपैयाँ मूल्य उल्लेख गरिएको छ । अनुगमन टोलीले प्रा.लि.ले गलत एम.आरपी उल्लेख गरी अनुचित कार्य गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याएको हो ।

यसअघि प्रसोधित पानी उत्पादन व्यवसायी संघ र जिल्ला प्रशासन कार्यालय मोरङमा तत्कालीन प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद कोइरालाको नेतृत्वमा एक लिटरको मिनिरल वाटरको एम.आरपी मूल्य २० रुपैयाँ र प्रतिजार ७० रुपैयाँभन्दा बढी एमआरपी मूल्य राख्न नपाइने सहमति भएको थियो । उक्त सहमतिमा हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रा.लि.का संचालकको पनि उपस्थिति रहेको बरालले जानकारी दिए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा कुनै पनि निकायले अनुचित व्यवसाय जन्य क्रियाकलाप गर्न नहुने उल्लेख गरिएको छ । अनुगमनको क्रममा अनुचित कार्य गरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को ‘ङ’ बमोजिम हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिलाई कारवाही गरिएको कार्यालय प्रमुख बरालले बताए । कार्यालय प्रमुख बरालले अन्य पानी व्यवसायीहरूलाई पनि उचित मूल्य निर्धारण गरी प्रसोधित पानी बिक्री वितरण गर्न निर्देशन पनि दिएका छन् ।