विराटनगर : प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकहरूको लागि अनलाइनबाट तथ्याङ्क सङ्कलन सुरु गरेको छ ।

कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतीक्षारत र फर्किएका प्रदेश १ नागरिकहरूको तथ्याङ्क सङ्कलन गर्ने गरी अनलाइन फारम भर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको हो । उक्त तथ्याङ्क सङ्कलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले आज शुभारम्भ गरेका छन् ।

गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरूको अनलाइन फारम तयार गरेर तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको थियो । उक्त तथ्याङ्क https://helpline.p1.gov.np/ मा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रदेश योजना आयोगमा रहनेछ । यो फारमले आफ्ना नागरिकहरूको सिपलाई प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताए ।

'विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरूको सिपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौँ,' मुख्यमन्त्री राईले भने । तथ्याङ्क सङ्कलन हुने फारममा युवाहरूको रुचीका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने मुख्यमन्त्री राईको भनाई छ । विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरूलाई उद्यममा जोड्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राईले बताए ।

यो तथ्याङ्क सङ्कलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरूलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् ।

तथ्याङ्क सङ्कलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने उनको भनाई छ । यो अनलाइन तथ्याङ्क फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावली समेत राखिएको छ ।