इटहरी :  मोरङको मिक्लाजुङ गाउँपालिका स्थित विभिन्न खोलाबाट अवैध उत्खनन भएको पाइएको छ । बक्राहा लगायतको खोलाबाट तोकिएको परिमाण भन्दा दोब्बर बढी उत्खनन गरेको पाइएको हो ।

गाउँपालिकाले आफैले तयार पारेको वातावरण परीक्षण अनुसार तोकेको भन्दा बढी खोलाको गिट्टी बालुवा उत्खनन गरेको छ । आर्थिक वर्ष २०७६/७७ बक्राहा खोला, सोल्टी खोला, सफेवा खोला र साखरे खोलाबाट दुई लाख ५६ हजार घन मिटर मात्र निकाल्न पाइने स्पष्ट परेको छ ।

त्यही अनुसार लागेको ठेक्का अनुसार २५६६५९ घन मिटर उत्खनन गर्नु पर्ने हो । तर ठेक्का पाएको जे एन्ड जे निर्माण सेवा, दमकले अहिले झन्डै ४ लाख घन मिटर उत्खनन गरिसकेको छ ।

तोकेको भन्दाबढी नदीजन्य स्रोत ढुङ्गा गिट्टी निकालेको विषयमा गाउँपालिकालाई थाहा नभएको पनि होइन । तोकिएको जति ढुङ्गा गिट्टी निकाली सकेको विषयमा खोला उत्खनन अनुगमन समितिले ठेक्का पाएको निर्माण कम्पनीलाई काम रोक्न पत्र समेत पठाइसकेको छ ।

अनुगमन समितिले पत्र पठाउँदा समेत अझै खोलाबाट गिट्टी ढुङ्गा भने उत्खनन भने हुँदै आएको छ । गाउँपालिकाको अनुगमन समितिले ज्येष्ठ २३ गते नै खोलाको उत्खनन बन्द गर्न पत्र काटेको थियो । तर सो पत्रलाई कार्यपालिकाबाट पास गराउनु पर्ने भन्दै अझै खोला दोहन गाउँपालिकाको नेतृत्वले बढवा दिई रहेको छ ।

bakraha-khola-1
'हामीले अनुगमन गरेर खोला उत्खनन बन्द गर्न भनेर निर्णय गरिसकेका छौ' खोला अनुगमन समितिका एक सदस्य भन्छन् 'पत्र पनि काटी सकेको छ, तर कार्यपालिकामा अनुमोदन गराउनु पर्छ भनेर तत्काल रोकिएको छ, अब अलि पछि मात्र पास अनुमोदन हुन्छ होला ।'

हुन त अनुगमन समितिको निर्णय अनुमोदन गर्न कार्यपालिका बैठक पनि ज्येष्ठ २५ गते बोलाइएको थियो । तर सबै कार्यपालिका सदस्य उपस्थित नभएको भन्दै कार्यपालिका बैठक स्थगित गरेको गाउँपालिका स्रोतले जनाउँछ । अनुमोदन गरेर खोलाको दोहन रोक्नु पर्नेमा कार्यपालिका बैठक भने अझै बस्न सकेको छैन ।