धरान : सप्तरी जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको बेलामा पिसिआर परीक्षणका लागि स्वाबको नमुना सङ्कलन पनि बढेको छ ।

स्वाबको नमुना सप्तरीमा भारतबाट आएर क्वारेनटाइनमा बसेकाहरूको लिई रहेको र स्वाबको नमुना पनि बढिरहँदा परीक्षण गर्न समय लाग्ने र ल्याबहरूले लिन नमान्ने भएकोले सप्तरीमा कोरोना सङ्क्रमण नयाँ केस पहिचान गर्न समय लाग्ने गरेको बताइएको छ ।

केही दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएकाहरूलाई अस्पतालमा राख्ने ठाउँ नभएर क्वारेनटाइनमै राख्नु परेको थियो । तर पछिल्लो समय शाही कृष्ण प्रस्तावित मेडिकल कलेजमा १ सय बेडको आइसोलेसन तयार भए पछि सङ्क्रमितको व्यवस्थापन जसो तसो भएको छ । तर फेरी स्वाब परीक्षणका लागि सप्तरीकै गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमामै पिसिआर परीक्षण हुने भनिएकोमा अझै परीक्षण त्यहाँबाट हुन नसकेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।

पिसिआर मेसिन यहीबाट सञ्चालन हुन्छ र सङ्कलित स्वाबका नमुनाहरू पनि जिल्ला सदरमुकाममै हुन्छ भनिएको थियो । तर यसो हुन सकेको छैन । अहिले सम्म निरन्तर परीक्षणमै सीमित रहेको छ । अहिले सम्म कुनै नमुना परीक्षण भएको छैन । अरू प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता रहेको प्रमुख यादवले बताए ।

ल्याब सञ्चालनका लागि दक्ष जनशक्तिको अभावका कारणले पनि सप्तरीमा पिसिआर मेसिन सञ्चालनमा आउन नसकेको हुनसक्ने बताउँदै प्रमुख यादवले भने प्रदेश सरकारको ध्यान जानुपर्छ । यदि यहीबाट परीक्षण हुने हो भने सप्तरी जिल्लालाई धेरै सहज हुने भन्दै यादवले भने सप्तरीमा पिसिआर मेसिन सञ्चालनमा ल्याउनका लागि सरकारले ध्यान दिनुपर्‍यो ।