झापा : सरकारले कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न गत वर्षको चैत ११ गते देखी लकडाउन गरेको छ । यस बिचमा सहरी क्षेत्रका सर्वसाधारण घरमै बसेर लकडाउनको पालना गरिरहेका छन् तर ग्रामीण भेगका सर्वसाधारणलाई भने यति बेला लक डाउन भन्दा पनि चैते धान भित्र्याउने चटारो छ ।

एक त विगतका दिनहरूमा जस्तो कृषि मजदुर पाइँदैनन् त्यसमाथि यो लकडाउनले मजदुर लगाएर धान भित्र्याउन झन् कठिन भएको अवस्था छ । यस बिचमा ग्रामीण भेगका किसानहरुपनि अहिले विभिन्न कृषियन्त्रका माध्यमबाट आफ्नो बाली भित्र्याइरहेका छन् ।

झापा गौरादह-७ की उर्मिला कार्कीले आफूले करिब १ बिगाहा क्षेत्रफलमा लगाएको चैते धान धान काट्ने र झार्ने उपकरणको माध्यमबाट भित्र्याइन । न त जन नपाइएला भन्ने पिर, न त दिउँसो काटेको धानका पाँजालाई राती पानी आएर भिजाउला कि भन्ने चिन्ता । त्यसैले आफूले यही धान काट्ने आधुनिक उपकरण प्रयोग गरेको कार्की बताउँछिन् ।
उर्मिलाले जस्तै उनकै सधियार नारायण कार्कीले पनि यही मेसिनको माध्यमबाट चैते धान भित्र्याए । लकडाउनले मजदुर अभाव भइरहेका बेला यो मेसिन आफूहरूका लागि वरदान साबित भएको उनकोपनि प्रतिक्रिया छ । “सहरी भेगका मानिस घरमै बसेर लकडाउनलाई पालना गर्दै छन्, हामी ग्रामीण भेगका किसानलाई त यस्तो पो चटारो छ ।” कार्कीले हाँस्दै सुनाए ।

भारतबाट ल्याइएको यो धान काट्ने र झार्ने आधुनिक उपकरण प्रयोग गरेको प्रति घण्टा साढे ६ हजार रुपैयाँ ज्याला लिने गरिएको छ । एक घण्टामा करिब १२ देखी १५ कट्टा क्षेत्रफलमा लगाइएको धान बाली भित्र्याउन सकिन्छ ।

गाउँमा मजदुर अभाव पुरानै समस्या भए पनि ग्रामीण भेगका किसानले अझै पनि अर्म पर्म गरेर आफ्नो बाली भित्र्याउने गरेका थिए । तर यस पटक कोरोना भाइरसको महामारीको त्रासले अर्म पर्ममा पनि कोही जान नमान्ने अवस्था आएपछि यहाँका किसानहरू आधुनिक उपकरण तर्फ आकर्षित बनेका छन् ।

Krishi-News