धरान : सप्तरी जिल्लामा बिहीबार थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार थप कोरोना सङ्क्रमित भएका ६ जना सबै हनुमान नगरको क्वारेनटाइनमा रहेका पुरुष रहेका छन् । उनीहरूको स्वाबको नमुना परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको हो ।

यो सँगै सप्तरी जिल्लामा मात्रै १ सय २१ जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको छ । यस मध्ये ४ जना डिस्चार्ज भएका छन् ।

सप्तरी जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या दैनिक तीव्र गतिमा बढेपछि अहिले सप्तरी जिल्लामा कोरोना सङ्क्रमित बिरामी राख्न अस्पतालमा आइसोलेसन बेड समेत अभाव भएको छ ।

कोरोना सङ्क्रमितहरूलाई राख्नका लागि राजविराजमा रहेको शाही कृष्ण प्रस्तावित मेडिकल कलेजमा तयार गरिएको १ सय ३ बेडको आइसोलेसन बेड पुरै भरिएकोले अहिले पनि कोरोना सङ्क्रमितहरू सप्तरीका विभिन्न क्वारेनटाइनमै खेप्नुपरिरहेको प्रमुख यादवले बताए ।

सप्तरीको बोदेवर्साईनमा ३ जना, छिन्नमस्ता गाउँपालिकामा ६ जना र हनुमान नगरमा ६ जना कोरोना सङ्क्रमण पुष्टि भए पनि अझै उनीहरूलाई क्वारेनटाइनमै राख्नुपर्ने अवस्था आएको बताइएको छ ।