धरान : नेपालमा बिहीबार थप दुई सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ३० जना पुरुष र २० जना महिला गरी दुई सय ५० जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ६ सय १४ पुगेको छ । यस्तै एक सय ८७ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या आठ सय ६१ पुगेको छ । अहिलेसम्म एक लाख १५ हजार नौ सय ३० जनाको पीसीआर र एक लाख ७८ हजार एक सय ४३ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा मात्रै पाँच हजार एक सय ९४ जनाको पीसीआर र पाँच हजार दुई सय ६३ जनाको आरडीटी परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार एक लाख ६२ हजार १३ जना क्वरेण्टीनमा र तीन हजार सात सय ३८ जनालाई आइसोलेसनमा राखिएको छ । कोरोना सङ्क्रमणका कारण नेपालमा अहिलेसम्म १५ जनाको ज्यान गएको छ ।