धरान : सरकारले विभिन्न चार जिल्लामा फेरि पूर्ण लकडाउन गर्ने भएको छ ।

एक्टिभ सङ्क्रमितको सङ्ख्याका आधारमा पूर्ण लकडाउन गर्ने तयारी सरकारको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय भन्दा धेरै कोरोना सङ्क्रमित भएका विभिन्न जिल्लामा पूर्ण लकडाउन गर्ने उल्लेख भएकाले अहिलेलाई चार जिल्लामा पूर्ण लकडाउन लाग्ने भएको छ ।

अन्य जिल्लामा लकडाउन केही खुकुलो बनाउँदै लगे पनि अहिले २ सय भन्दा धेरै एक्टिभ सङ्क्रमित भएका दैलेख, कपिलवस्तु, रौतहट र सर्लाहीमा पूर्ण लकडाउन गरिने भएको छ ।

मन्त्रालयका अनुसार दैलेखमा ४ सय ४३, कपिलवस्तुमा ३ सय ५३, रौतहटमा ५ सय १६ र सर्लाहीमा ४ सय ७१ जना एक्टिभ कोरोना सङ्क्रमित छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दुई सय भन्दा धेरै सङ्क्रमित अन्य जिल्लामा पुगेमा ती जिल्लामा पनि पूर्ण लकडाउन लाग्ने बताए । अर्को व्यवस्था नभएसम्मका लागि २ सय भन्दा धेरै एक्टिभ सङ्क्रमित भएको ठाउँमा पूर्ण लकडाउन लाग्ने उनको भनाइ छ ।