झापा : लकडाउन छ, खायो बसो । आजकल प्राय: सुनिने साझा शब्द जस्तै भइसकेको छ । तर यो लकडाउनलाई अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्छ ।

लकडाउनका कारण अहिले धेरै विकासे कामहरू रोकिए । कति त मजदुर नभएर पनि रोकिएका छन् । अझ कामधाम नै केही नभएपछि पेट कसरी भने चिन्ता चुलिनु स्वभावीकै पनि त हो नि । त्यसैले त सरकारले नागरिक भोकै नपरून् भनेर राहत पनि बढ्यो । तर त्यो कति दिन पर्याप्त हुन्थ्यो र ? तर कतिपय स्थानीय सरकारले अहिले राहत भन्दा पनि रोजगारीलाई प्राथमिकता दिन थालेका छन् । त्यसैको एउटा उदाहरण बनेको छ झापाको गौरादह नगरपालिकापनि ।

झापाको गौरादह नगरपालिका वडा नम्बर ७ मा रहेको ग्वालडुब्बास्थित त्रिवेणी टोलका युवाहरूलाई लक्षित गरी अहिले रोजगारी प्रदान गरिएको छ । त्रिवेणी टोल विकास संस्थाको पहलमा नगरपालिकाको सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ती युवाहरूलाई अहिले आफ्नै टोलमा खानेपानीको धारा जडानकालागि पाइप बिछ्याउने काममा लगाइएको छ । गाउँमा विदेशबाट फर्किएर आएका र फेरी जान नपाएका, त्यसै गरेर लकडाउनका कारण अन्य काम, व्यापार, व्यवसाय गर्न नपाएकाहरूलाई लक्षित गरेर टोल विकास संस्था मार्फत उनीहरूलाई रोजगारी दिइएको छ ।

Jhapa-Rojgar-news

यस टोलका यी युवाहरू अहिले ११ सय मिटर पाइप बिच्छ्याउनका लागि खाडल खनिरहेका छन् । उनीहरूलाई यो काम गरे बापत दैनिक ५ सय ४५ रुपैयाँ भत्ता समेत उपलब्ध गराइँदै आएको छ । काममा खटिएका स्थानीय युवा बद्री सङ्ग्रौला यति बेला लकडाउनको सदुपयोग पनि भएको र गाउँमै रोजगारी पनि पाएको भन्दै खुसी व्यक्त गरिरहेका छन् ।

आफ्नै घरमा खानेपानीको धारा पुर्‍याउन पनि पाइने अर्कोतिर काम गरेबापत दैनिक ज्याला पनि पाउने भएपछि स्थानीय युवाहरू खुसीले काम गरिहरेका छन् । बेरोजगार भएर बसेका सोही टोलका दिनेश बुढाथोकी पनि आफ्नै घर आँगनमा बिकासपनि हुने र आफूले पनि रोजगारी पाएपछि आफूहरूलाई खुसी लागेको प्रतिक्रिया दिन्छन् ।

कतै मजदुर अभावमा विभिन्न विकासे योजनाहरू अहिले अलपत्र परिरहेका छन् । कतै युवाहरू रोजगारी गुमाएर र रोजगारी नपाएर लकडाउनका बेला घरमै यो समयलाई खेर फालिरहेका छन् । यस्तो अवस्थामा आवश्यक सुरक्षाको सबै उपाय अपनाएर बेरोजगार भएकाहरूलाई यसरी नै काममा लगाउने हो भने हामीले भनेजस्तै यो लक डाउनलाई अभिशाप हैन अवसरको रूपमा बदल्न पनि सकिने गौरादह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बलराम खरेल बताउँछन् ।