धरान : आइतबार सुनसरीमा एक डेढ वर्षीय बालकमा कोरोना पुष्टि भए सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५७ पुगेको छ ।

केही दिन अघि भारतबाट आएका डेढ वर्षीय बालकको आमा, बुवा र दाजुमा रिपिट पिसिआर र आरडिटी परीक्षण गर्दा पनि उनीहरूमा कोरोना पोजेटिभ नदेखिएको र डेढ वर्षीय बालकमा भने कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

उनीहरू भारतबाट आए देखिनै रामधुनीको क्वारेनटाइनमा बसेका थिए । डेढ वर्षीय बालक सँगै अहिले सम्म सुनसरीमा ५ जना महिला र ५२ जना पुरुष सहित कोरोना सङ्क्रमितको सङ्ख्या ५७ पुगेको हो ।

सुनसरीमा १७ क्वारेनटाइन 
सुनसरी जिल्ला भरी पछिल्लो समय १७ वटा क्वारेनटाइन रहेका छन् ।

ती १७ वटा क्वारेनटाइनमा ५ सय ६० जना रहेका छन् । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार केही स्थानीय निकायहरूमा क्वारेनटाइन थपिएको भनिए पनि आधिकारिक जानकारी भने आई सकेको छैन ।

सुन्नमा आए अनुसार सुनसरीमा २० वटा क्वारेनटाइन पुगेको हुनसक्ने उनले बताइन् । सुनसरी जिल्लामा आधिकारीकरुपमा १७ क्वारेनटाइन, भोक्राहामा १ वटा होल्डीङ सेन्टर रहेको छ । पछिल्लो समयमा कोसी गाउँपालिकामा पनि होल्डीङ सेन्टर थपिएको भनिए पनि यसको पनि आधिकारिक जानकारी नभएको कोभिड फोकल पर्सन लिङ्थेपले बताइन् ।

सुनसरीमा कोरोना परीक्षण : 
सुनसरी जिल्लामा अहिले सम्म १ हजार ७ सय ३४ जनाको आरडीटी परीक्षण भएको छ भने २ हजार ३ सय ४८ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण भएको छ ।

जस मध्ये ५७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ भने बाँकी २ सय जनाको अझै रिपोर्ट आई सकेको छैन । सुनसरीमा पछिल्लो समय धरानकी एक महिला, इटहरीका युवा र बराहक्षेत्रका एक बालिका बाहेक अरू स्थानीयमा कोरोना पुष्टि भएको छैन । सङ्क्रमित जति सबै भारतबाटै आएको मात्रै रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।