धरान : सुनसरीमा सोमबार थप ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो थपिएका ३ जना सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ ।

सोमबार थपिएका कोरोना सङ्क्रमितहरू बराहक्षेत्र नगरपालिकाका १ जना पुरुष र १ जना महिला गरी २ जना र बर्जु गाउँपालिकाका १ जना पुरुष गरी जम्मा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । उनीहरू सबै जना क्वारेनटाइनमै बसेको बताइएको छ ।

यसैबिच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सोमबार ७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनीहरूको स्वास्थ्य प्रोटोकल अनुसार पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएको कारण उनीहरू स्वास्थ्य रहेकोले अस्पतालले डिस्चार्ज गरेको हो ।

यसै गरी सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २५ जना नयाँ कोरोना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् । उनीहरू हिजो कोरोना सङ्क्रमण पुष्टि भएका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो भर्ना भएका सँग अहिले ४९ जना कोरोना सङ्क्रमित उपचाररत रहेको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले बताए । उनका अनुसार सबैको अवस्था सामान्य रहेको छ ।