धरान : सप्तरी जिल्लामा कोरोना परीक्षणको लागि ल्याब सञ्चालनमा आए पनि कोरोना परीक्षणको समस्या 'ज्युँका त्युँ' नै रहेको छ ।

केही समय पहिले सप्तरी जिल्लामा सङ्कलन भएको स्वाबको नमुना जिल्ला बाहिरको ल्याबहरू विराटनगर, धरान र काठमाडौँ पटाउँदा धेरैको रिपोर्ट एकै पटक आउँथ्यो भने अहिले आएर सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको कोरोना ल्याबमा दैनिक ३० देखि ४० वटा नमुना मात्रै परीक्षण हुने भएकोले स्वाबको नमुना सङ्कलन गरिएको भए पनि परीक्षणकालागि स्टकमा रहेको धेरै भएकोले झन् समस्या भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।

सप्तरीमा पिसिआर मेसिन सञ्चालनमा नआउँदा अरू तिरको ल्याबबाट २-३ सयको रिपोर्ट एकै दिनमा दिने गर्दथे तर अहिले सप्तरीको स्वाबको स्याम्पल सप्तरीमै जाँच गर्नुपर्दा क्वारेनटाइनमा बस्ने र जनप्रतिनिधिहरूबाट आफूलाई धेरै दबाब आएको प्रमुख यादवले बताए ।

आशङ्का गरिएका मानिसको २४ घण्टा भित्रमा स्वाब लिएर परीक्षणको नतिजा दिन सके मात्रै यो रोग अरू तिर सङ्क्रमण हुन पाउँदैन तर यहाँ त हप्ता दश दिन सम्म रिपोर्ट नआउँदा समस्या हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

सप्तरी जिल्लामा भारतबाट आउनेहरूको सङ्ख्या बढेसङै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढेको छ ।
सप्तरीका विभिन्न स्थानीय निकायहरूले निर्माण गरेको क्वारेनटाइनमा बस्नेहरूको दैनिक १ सय ५० देखि २ सय जनाको थ्रोट स्वाब सङ्कलन हुने गर्दछ । तर परीक्षणकालागि अरू तिर पटाउँदा ल्याबहरूले लिन मान्दैनन् जिल्लामै जाँच गर्दा कहिले सकिने झन् चिन्ता थपिएको प्रमुख यादवले बताए ।

सप्तरी जिल्लामा पछिल्लो पटक सोमबार दुई जना कोइलाडी तिलाठीका १ र राजविराजकै १ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या सप्तरीमा १ सय ५० पुगेको छ ।

सङ्क्रमित बढेर आइसोलेसनमा राख्न बेड अभाव भइरहेको बेलामा सप्तरीमा पिसिआर मेसिन सञ्चालनमा आए पनि परीक्षण अत्यन्तै कम हुने भएकोले समस्या भएको छ । यस सवालमा प्रदेश सरकारको ध्यान जानुपर्ने सप्तरीको स्वास्थ्यकर्मीहरू बताउँछन् ।