धनकुटा : नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाले धनकुटाका सबै स्थानीय तह, जिल्लामा रहेका सुरक्षा निकाय र धनकुटा अस्पतालमा गरी ५ लाख बराबरको सामान हस्तान्तरण गरेको छ ।

‘जहाँ विपद् त्यहाँ रेडक्रस’ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिनका लागि स्थानीय तहले बनाएका क्वारेनटाइनको व्यवस्थापनका लागि, सुरक्षा निकायलाई विपद् परेमा उद्धारको लागि र धनकुटा अस्पताललाई उपचार सहयोगको लागि सामाग्रीहरू हस्तान्तरण गरिएको रेडक्रस जिल्ला शाखा सभापति हरिकुमार राईले जानकारी दिए ।

जिल्लाका ७ वटै स्थानीय तहलाई क्वारेनटाइन व्यवस्थापनका लागि हरेक स्थानीय तहमा कम्बल २५ थान, त्रिपाल ५ थान, बिर्को सहितको बाल्टी ८ थान, स्ट्रेचर १ थान र साबुन ७ दर्जनका दरले वितरण गरेको हो । त्यस्तै जिल्लामा रहेका सुरक्षा निकायमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्रिपाल ५ थान, कम्बल १० थान, बाल्टिन ५ थान, हात धुने साबुन ७ दर्जन र प्लास्टिक डोरी २५ मिटरको ५ थानका दरले वितरण गरेको सभापति राईले जानकारी दिए ।

यता जिल्ला अस्पताल धनकुटालाई त्रिपाल ५ थान, कम्बल १० थान, बाल्टिन ५ थान, स्ट्रेचर १ थान र हात धुने साबुन साढे १० दर्जन वितरण गरेको हो । विपद्को समयमा स्थानीय तहले बनाएका क्वारेनटाइनमा राखेका मानिसहरूको सहजता र व्यक्तिगत सरसफाइका लागि ती सामाग्रीहरू सहयोग गरिएको सभापति राईले बताए ।

हालसम्म धनकुटा जिल्लाका ५ वटा स्थानीय तहमा रहेका क्वारेनटाइनमा बाहिरी जिल्ला र भारतबाट आएका गरी ४० जना मानिस रहेका छन् ।

जसमा धनकुटा नगरपालिकामा १२ जना, महालक्ष्मी नगरपालिकामा ११ जना, पाख्रिबास नगरपालिकामा २ जना, सहिदभूमि गाउँपालिकामा १३ जना र चौबिसे गाउँपालिकामा २ जना मानिसहरू क्वारेनटाइनमा रहेका छन् । यता छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले बनाएका क्वारेनटाइनमा भने मानिसहरू राखिएको छैन ।

क्वारेनटाइनमा रहेका मानिसहरूको स्वास्थ्यमा थप समस्या नहोस् भनेर सरसफाइका लागि ती सामाग्री सहयोग गरिएको र सामान अपुग भएमा थप सामान दिइने सभापति राईको भनाइ छ ।

रेडक्रसले क्वारेनटाइन व्यवस्थापनका सामान हस्तान्तरण गरेपछि स्थानीय तहलाई विपद्का बेला केही राहत मिलेको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए ।

Redcross-1 Redcross-2