धरान : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरान उपमहानगर कमिटीले कार्यसमिति सदस्य सङ्ख्या विस्तारमा नेकपाका केही नेताहरूले असन्तुष्टि जनाएका छन् ।

नेकपा धरान नगर इन्चार्ज आइन्द्रविक्रम बेघाले मङ्गलवार बिहान पार्टी कार्यालयमा बसेको बैठकले २ रिक्त पदपूर्ति गरिनुका साथै ६ जना थप सदस्य मनोनीत गरिएकोमा असन्तुष्टि जनाएका हुन् । मनोनीत गर्नुमा भन्दा पनि निर्णय प्रक्रिया गलत भएको भन्दै बेघाले असन्तुष्टि व्यक्त गरे । पार्टीले निर्णय गर्ने महत्त्वपूर्ण बैठकमा आफूलाई खबर नै नगरिएकोले यसबारेमा आफूलाई आधिकारिक जानकारी नभएको बताए ।

नेकपाको नियमावली २०७५ को परिच्छेद ६ को प्रतिनिधिको व्यवस्था अन्तर्गत ११ नम्बर को व्याख्या अनुसार पार्टीले निर्णय गर्नुपर्नेमा आफूलाई जानकारी नै नदिई बैठक बसी निर्णय भएकोमा पार्टीले यसलाई सच्याउनुपर्ने धारणा बेघाको छ ।

पार्टीले यस्तो निर्णय गर्दा पार्टी इन्चार्जलाई अनिवार्य बोलाउनुपर्छ र सहभागी भएको हुनुपर्छ । तर त्यसो नभएकोले आफू लगायत धरानका अरू नेकपा नेताहरूको पनि असहमति भएकोले पार्टीले मङ्गलवार गरेको निर्णयहरू माथि पुनर्विचार हुने र निर्णयहरू फेरबदल पनि हुन सक्ने बेघाले बताए । पार्टीले गरेको निर्णयमा निर्णय गर्ने प्रक्रिया माथि आफू असन्तुष्टि रहेको बेघाले बताए ।

मङ्गलवार बिहान बसेको पार्टीको कार्यालय बैठकले २ रिक्त पद र विधान बमोजिमको कमिटी सदस्यहरू मनोनीत गरेको अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । बैठकले रिक्त पदमा जीवन भट्टराई र जसरथ थलङलाई मनोनीत गरेको छ । यस्तै, उपमहानगर कमिटी सदस्यहरूमा राजकुमार राई, अब्बास अन्सारी मियाँ, शारदा थापा मगर, भुवनसिंह बस्नेत, विकास चाम्लिङ, जीवन राईलगायतलाई मनोनीत गरिएको छ ।

पार्टी विधान अनुसार १० प्रतिशत सदस्य मनोनीत गर्न पाउने प्रावधान अनुसार मनोनीत गरिएको नेकपा धरान उपमहानगर अध्यक्ष नारायण सुवेदीको भनाई छ । नेकपा धरान कमिटी १ सय १ सदस्यीय रहेको थियो । त्यसअनुसार १० जना सदस्य सङ्ख्या मनोनीत गरिने सुवेदीले बताए । अझै केही सदस्य मनोनीत गर्न बाँकी छ ।

केही नेकपाका नेताहरूले पार्टीले गरेको निर्णय प्रति असन्तुष्टि जनाएको बारे अध्यक्ष सुबेदीले भने पार्टीको निर्णयमा कुनै समस्या छैन पार्टीको विधान अनुसार निर्णय भएको हो । नगर इन्चार्ज आईन्द्र विक्रम बेघालाई जानकारी थिएन रहेछ भन्ने सवालमा अध्यक्ष सुबेदीले भने “ सचिव ज्युले फोन गर्नुभएको थियो, उहाँले फोन उठाउनुभएन ।”

दुई इन्चार्जले नेकपा धरानमा समस्या : 

नेकपा धरान उपमहानगर कमिटीमा नेकपा जिल्ला कमिटीले फोक्वाहाङ सुब्बा चोत्लुङलाई धरान उपमहानगरको इन्चार्ज तोकेको छ भने प्रदेश कमिटीले आइन्द्रविक्रम बेघालाई तोकेको छ ।

बेघा प्रदेश कमिटीमा छन् भने चोत्लुङ जिल्ला कमिटीमा छन् । यसले गर्दा पनि पार्टीको निर्णयहरूमा दुई जना नगर इन्चार्ज मध्ये एक जना अनुपस्थित भई दिँदा पटक पटक समस्या नेकपा धरान उपमहानगर कमिटीमा देखिँदै आएको छ । नेकपा धरान उपमहानगर कमिटीको बैठक बसी कार्य समिति विस्तारको निर्णय सही भए पनि नगर इन्चार्जमा दुई जना भएका हुनाले समस्या आएको नेकपाकै केही नेतृत्वहरू बताउँछन् ।

देशै भरी नेकपाको संगठान विस्तारलाई हेर्ने हो भने प्रदेश १ को सुनसरी जिल्लाको इटहरी र धरान उपमहानगरमा जिल्लाले तोकेको १ जना र प्रदेश कमिटीले तोकेको १ जना नगर इन्चार्ज रहेका छन् । पार्टीले अरू ठाउँमा यसो गरेको छैन । तर सुनसरीको दुई उपमहानगरमा भने यसो गरेको छ । यसले पनि पार्टीमा बेला बेलामा समस्या ल्याउने गरेको नेकपाकै जिम्मेवार व्यक्तिहरू बताउँछन् ।