धरान : पूर्वी पहाडी जिल्ला तेह्रथुमको फेदाप गाउँपालिका वडा नंं १ मा रहेको पोक्लाबाङ स्थित लिम्बू समुदायको समाधिस्थल भत्काइएको विषयमा बुधवार गाउँपालिकामा ज्ञापन पत्र बुझाउन जाँदा गाउँपालिकाले ज्ञापन पत्र बुझ्न मानेन ।

पोक्लाबाङमा रहेको लिम्बु जातिको परापुर्वकाल देखि समाधि स्थलकोरुपमा प्रयोग हुँदै आएको क्षेत्रमा विकासको नाममा समाधीस्थलमा डोजर चलाउँदा १ हजार भन्दा बढी समाधि स्थल भत्किएर मानव कङ्काल र हण्डीहरु बाहिर निस्किएको थियो ।

समाधि स्थलमा डोजर चलाइएको विषयमा कपिल निङ्लेकुको संयोजकत्वमा बनेको आदिवासी याक्थुङ लिम्बु समाधि स्थल चिहान संरक्षण सङ्घर्ष समिति गठन गरी सङ्घर्ष गरिरहेको थियो । सोही समितिले बुधवार फेदाप गाउँपालिकामा ज्ञापन पत्र बुझाउन जाँदा सो गाउँपालिकाका अध्यक्ष हरि हुक्पा चोङ्बाङले ज्ञापन पत्र नबुझेको बताइएको छ । लिम्बु जातिको समाधि स्थल भत्किने गरी गाउँपालिकाले त्यस्तो कार्य नगरेको र सहरी विकास आयोजनाले गरेको भन्दै ज्ञापन पत्र नबुझिएको बताइएको छ ।

ज्ञापन पत्रमा जेठ २६ गतेका दिन रातीको समय पारी गाउँ पालिकोको बजेटमा याक्थुङ (लिम्बू) हरूको पोक्लाबाङ स्थित समाधि स्थल चिहानमा डोजर लगाइएकोमा यो समिति खेद व्यक्त गर्दछ भनी उल्लेख गरिएको छ ।

ज्ञापन पत्रको पुर्णपाठ :

मिति  २०७७ । ०३ । ०३
गाउँपालिका अध्यक्ष ज्यू
फेदाप गाउँ पालिकाको कार्यालय, फेदाप तेह्रथुम ।

विषय  : ज्ञापन पत्रका सम्बन्धमा ।

मिति २०७७ । २ । २६ गतेका दिन रातीको समय पारी गाउँ पालिकोको बजेटमा याक्थुङ (लिम्बू) हरूको पोक्लाबाङ स्थित समाधि स्थल चिहान डोजर लगाइएको कुरा यहाँहरूलाई सर्वविदितै छ । आदिवासी याक्थुङ लिम्बूहरूको चिहान नै मन्दिर हो । हिन्दु धर्मावलम्बीको मन्दिर भत्काउनु र याक्थुङ (लिम्बू) हरूको चिहान भत्काउनु तात्त्विक भिन्नता नभएको थाहा पाउँदा पाउँदै गाउँ पालिकाको बजेटमा यस्तो कार्य हुनु खेदजनक कार्य भएको जानकारी गराउँदछौ ।

विकासको नाममा कुनै समुदायको सांस्कृतिक विनाश गर्ने छुट कसैलाई छैन । सम्मानित सर्वोच्च अदालतले समेत यस्ता सांस्कृतिक स्थलहरू नभत्काउनु नमास्नु भन्ने फैसला गरिसकेको अवस्थामा र नेपालमा राष्ट्रिय कानुन सरह लागू भएको आईएलओ महासन्धि १६९ मा उल्लेखित आदिवासीहरूको अधिकार जल, जमिन, जङ्गल र जडीबुटी, एवम् संस्कृतिको संरक्षण गर्ने अधिकार रहेको थाहा हुँदा हुँदै हामी आदिवासी याक्थुङ (लिम्बू) हरूको चिहान भत्काउनु भनेको निन्दनीय जातीय विभेदयुक्त एवम् एक जाति एक भाषा एक संस्कृति र एक धर्मको वर्चस्व एवम् हालीमुहाली भएको ठहर गरेका छौँ ।

अमेरिकामा काला जाति माथि दिन दहाडै हत्या गर्नु र नेपालमा आदिवासी याक्थुङ –लिम्बू) हरूको चिहान रातारात भत्काइनु दुवै साम्प्रदायिक निन्दनीय कार्य हुनका साथै मानव अधिकार विरुद्धका कार्य हुन् । नेपाल पक्ष राष्ट्र भएको आदिवासीहरूका अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय घोषणा पत्रको समेत ठाडो बर्खिलाप गर्दै चिहान भत्काउने कार्यले हामी आदिवासी याक्थुङ (लिम्बू) हरूको घोर अपमान भएको छ । यति मात्र होइन कि याक्थुङ मुन्धुम अनुसार याक्थुङ लिम्बूको भौतिक शरीर मरेर गए पनि आत्मा मर्दैन भन्ने हेक्का राख्नु पर्ने हो ।

यी जीवित आत्मा बस्ने घर नै चिहान भएकोमा यस्ता जीवित आत्मा माथि डोजर चल्नु आपत्तिजनक कार्य हो । यो मानव आत्मा माथिको नरसंहार हो । सांस्कृतिक रूपमा राज्यले गरेको हस्तक्षेप हो भन्ने बुझेका छौँ । यसर्थ यस्ता कार्य जो कोहीले गरेता पनि क्षम्य हुन सक्दैनन् । अर्को त नेपालको मौजुदा कानुनले समेत चिहान भत्काउने अधिकार कसैलाई छैन । यस्तो अवस्थामा भएको कानुनी अज्ञानता कुनै हालतले क्षम्य हुँदैन ।

यसका लागि मिति २०७७ । ०३ । १ भएको भेलाको निर्णय अनुसार तपसिल बमोजिमको मागहरू राखी ज्ञापन पत्र दिने भन्ने निर्णय भएकाले तपसिल बमोजिमको मागहरू राखी यो ज्ञापन पत्र दिएका छौँ । उक्त ज्ञापन पत्रलाई बेवास्ता गरेमा सङ्घर्ष सििमत चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने जानकारी समेत गराउँदछौ ।

हाम्रा मागहरू :
१, आदिवासी याक्थुङ (लिम्बू) सांस्कृतिक स्थल चिहान सहरी विकास कार्यालयको लगानी र गाउँ पालिकाको समन्वयमा भत्काइएकोले गाउँ पालिका सरकारद्वारा आदिवासी याक्थुङ (लिम्बू) समुदायसँग लिखित माफी मागियोस् ।

२,भत्किएका चिहानलाई अविलम्ब १५ दिन भित्र जस्ताको तस्तै पुरुष भए ४ तला र महिला भए ३ तला डुङ्गाको चिहान एवम् कपुर थान भए कपुर थानको रूपमा जस्ताको तस्तै निर्माण गरियोस् ।

३,आदिवासी याक्थुङ (लिम्बू) हरूको मुन्धुम र विस्थापन अनुसार व्यक्तिको आत्मा नमर्ने भएकाले जीवित आत्मामाथि राज्यको डोजर लगाइएकाले डोजर लगाइएका चिहान पहिचान गरी सहिद घोषणा गरियोस् ।

४,सहिद घोषणा गरिएका आत्मासँग सम्बन्धित चिहान पहिचान गरी उनीहरूको सन्ततिलाई उचित क्षतिपूर्ति उपलब्ध गराइयोस् ।

५.आगामी दिनमा आदिवासी याक्थुङ लिम्बूको चिहान नभत्काइने लिखित प्रतिबद्धता गाउँपालिका सरकारबाट व्यक्त गरियोस् ।

६,आईएलओ महासन्धि १६९ र आदिवासीहरूको अधिकारकालागि संयुक्त राष्ट्र सङ्घीय बडापत्र कार्यान्वयनको लागि लिखित प्रतिबद्धता जाहेर गरियोस् ।

बोधार्थ : 
१. प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय तेह्रथुम ।


संयोजक
(कपिल निङ्लेकु)
आदिवासी याक्थुङ (लिम्बू) समाधि स्थल
चिहान संरक्षण सङ्घर्ष समिति