धरान : ३ प्रतिशत धरान नगरबासीको कोरोना परीक्षणकालागि भिटिएम खरिदको प्रक्रिया अघि बढेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

कार्यपालिका बैठकद्वारा निर्णय भइसकेकोले अव पिसिआर परीक्षणकालागि भिटिएम खरिद गर्नका लागि बोल पत्र आव्हान हुने तयारी अन्तिम चरणमा पुगेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।
धरान उपमहानगर क्षेत्रमा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न फ्रन्टलाईनमा खटिएकाहरु, सरसफाईकर्मी, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिलाहरू, विदेशबाट आएका र कोरोना सङ्क्रमण प्रभावित क्षेत्रबाट आएकाहरूको कोरोना परीक्षण गरिने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

कोरोना परीक्षणका लागि भिटिएम, पिसिआर किट, पिसिआरका विभिन्न टिप्सहरू खरिदका लागि खरिद प्रक्रिया धरान उपमहानगरपालिकाले अगाडी बढाई सकेको छ । धरान उपमहानगरपालिकाले खरिद गर्न चाहेको सामाग्रीको बोल पत्र आव्हान गरी असार १५ सम्ममा खरिद गरी सक्ने धरान उपमहानगरपालिकाले जनाएको छ ।

धरान उपमहानगरपालिका भित्र १ लाख ६९ हजार जनसङ्ख्या रहेकोमा धरान बाहिरकाको पनि धरानमा बसोबास रहेकाले २ लाखको हाराहारीमा रहेको जनसङ्ख्याको २ देखि ३ प्रतिशत करिब ७ हजार धरानवासीको फ्रन्टलाईनमा रहेका र जोखिम नजिक रहेकाहरूको कोरोना परीक्षण गरिने छ ।