धरान : सप्तरीमा पछिल्लो समय फेरि भारतबाट आउनेको सङ्ख्या बढेपछि कोभिड १९ उपचार तथा नियन्त्रणमा समस्या हुन थालेको छ ।

एकातिर भारतबाट दैनिक १ सय देखि १ सय ५० जनाको सङ्ख्यामा बुधवार यता भारतबाट नेपाल आउनेहरूको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।

सप्तरीमा अहिले सम्म विदेशबाट आउनेलाई राख्नका लागि ८४ वटा क्वारेनटाइन तयारी अवस्थामा राखिएको र अहिले क्वारेनटाइनमा १६ सय २७ जना रहेका छन् । क्वारेनटाइनको त जसो तसो व्यवस्थापन गर्न सकिएला तर उनीहरूको स्वाब लिएर परीक्षणमा समस्या रहेको प्रमुख यादवले बताए ।

अहिले सप्तरीमा सम्म सप्तरीमा २ हजार २६ जनाको थ्रोट स्वाब लिइएकोमा अझै ४ सय ७३ जनाको स्वाबको नमुना परीक्षणको नतिजा आउन बाँकी रहेको छ । पिसिआर परीक्षण अरू ठाउँका ल्याबले लिन नमान्ने र सप्तरीको राजविराजको ल्याबले परीक्षण थोरै मात्रै गर्न सक्ने भएकोले अहिले सप्तरीमा परीक्षणमा समस्या भएको हो । अहिले सम्म सप्तरीमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ५१ पुगेको छ ।

आइसोलेसन बेड र क्वारेनटाइनमा जसोतसो व्यवस्थापन भए पनि सप्तरीमा पछिल्लो पटक भारतबाट आउने मानिसको चाप बढ्न थाले पछि थप समस्या भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । अहिले सम्म सप्तरीको विभिन्न स्थानीय निकायहरूले निर्माण गरेको क्वारेनटाइनमा ४ हजार ५ सय ९४ जना भर्ना भएकोमा २ हजार ९ सय ६७ जना डिस्चार्ज भई सकेका छन् ।