धरान : कोरोना सङ्क्रमित दिनानुदिन बढ्दै गएपछि सरकारले लकडाउनलाई व्यवस्थित गर्न नयाँ सुरक्षा मापदण्ड सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार अब राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयले शुक्रवार जारी गरेको लकडाउनलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ अनुसार अत्यावश्यक कामबाहेक अब राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लागेको छ । प्रहरीले हिँडडुलको अनुगमन गर्नेछ ।

त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।

गृह मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक आफू रहेको आवास र कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन मन्त्रालयले भनेको छ ।

हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दुरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन गृहले भनेको छ ।

गृह मन्त्रालयले जारी गरेको मापदण्ड यस्तो छ :

hom_ministry-1 hom_ministry-2 hom_ministry-3 hom_ministry-4