धरान : इटहरी उपमहानगरले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमका बारेमा सुझाव सङ्कलन गरेको छ ।

बजेट तथा योजना तर्जुमा समितिले विभिन्न क्षेत्रका व्यक्तित्वहरू सँग छलफल गरी सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार,नागरिक समाज,आदिवासी जनजाति,पिछडा वर्ग,दलित समुदाय,महिला सञ्जाल सँग छलफल गरी सुझाव सङ्कलन गरिएको छ ।

यसै गरी एकल महिला,अपाङ्गता भएकाहरू,कलाकार,साहित्यकार,पत्रकार,युवा उद्यमीहरूको सुझाव लिइएको छ । आगामी आर्थिक वर्षको बजेटमा क्षमता अभिवृद्धि भन्दा पनि उत्पादन र आयआर्जनसँग जोडने खालका कार्यक्रमहरूलाई उपमहानगरले प्राथमिकता दिने भएको छ ।

त्यस्ता के के कार्यक्रम कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण सुझावहरू प्राप्त भएको उपमेयर गौतमले बताइन् ।