विश्वमा महामारीको रूप लिएको कोभिड १९ बाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पछिल्लो समय दैनिक ५ सयको हाराहारीमा कोरोना सङ्क्रमित थपिँदै गएका छन् ।

गएको चैत ९ गते नेपालमा १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत ११ गते देखि नेपालमा लकडाउन जारी भयो । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी नेपाल सरकारले पटक पटक गरी ज्येष्ठ ३२ गते सम्म लकडाउनको समय अवधि बढाउँदै ल्यायो । त्यस पछि लकडाउन थप गरेको घोषणा पनि गरेको छैन भने लकडाउन हटेको पनि नेपाल सरकारले घोषणा गरेको छैन ।

यो अवधिमा आम जनताले बुझेका यत्ति छन् लकडाउनको स्वरूप मात्रै परिवर्तन भएको हो । ज्येष्ठ ३२ गते यता देशभर लकडाउन खुकुलो भएको छ । यो सँगै देशका विभिन्न ठाउँमा बजार, पसल खुलेका छन् ।

यो क्रममा धरानमा पनि अहिले आएर बजार, पसल खुल्न थाले सँगै सर्वसाधारणको बजारमा आउजाउ पनि बढेको छ । सुनसरी उद्योग वाणिज्य सङ्घ र धरान उपमहानगरपालिकाले धरानमा लकडाउनमा सर्वसाधारणलाई सहज होस भनेर केही मापदण्ड तोकेर बजार पसल खुल्ला गर्ने निर्णय गरेको छ । यसरी बजार पसल खुलेसँगै कोरोना सङ्क्रमणको पनि उच्च जोखिम बढेको छ । बजार, पसल खोलिदा सामाजिक दुरी कायम गर्नुपर्ने, पसल अघि हात धुने ठाउँ अनिवार्य हुनुपर्ने, मास्क, स्यानिटाइजर र पन्जा अनिवार्य हुनुपर्ने लगायतका मापदण्ड तोकेको छ । तर धरानका बजार र पसलहरूमा यसो गरेको देख्न पाइँदैन । यसले गर्दा दैनिक बढिरहेको कोरोना सङ्क्रमणको धरानमा उच्च जोखिम रहेको स्वास्थ्य सँग सम्बन्धित व्यक्तिहरू बताउँछन् ।

Lokdoun
बिहिवार विहान ६ बजे देखि ९ बजे सम्म धरानमा निस्किएका सर्वसाधरणहरु

धरान उपमहानगर क्षेत्रमा पछिल्लो समय बजार पसल खुले सँगै लापरबाही पनि बढेको छ । सामाजिक दुरी कायम गरेर बजार पसलमा आउजाउ गर्नुपर्नेमा हुल बाँधेर हिडने र सार्वजनिक सवारी साधन ट्याम्पो र ट्याक्सीहरू निर्बाध सञ्चालन भइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि जोरबिजोर प्रणाली सबै सवारी साधनमा लागु गर्ने निर्णय गरेको भए पनि यो पनि व्यावहारिक रूपमा लागु हुन सकेको छैन । यसले गर्दा पछिल्लो समय कोरोनाको महामारीको जोखिम दिनानुदिन बढिरहेको बेलामा स्वास्थ्य चुनौती पनि थपिएको छ ।

लकडाउनमा धरानको स्वास्थ्य अवस्था :

धरानमा सहरी स्वास्थ्य केन्द्र १ वटा, स्वास्थ्य चौकी ३ वटा, सामुदायिक स्वास्थ्य इकाई १ वटा, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र १ वटा, आधारभूत स्वास्थ्य सेवा केन्द्र ८ वटा गरी सरकारी स्वास्थ्य संस्था १४ वटा रहेका छन् ।

यी स्वास्थ्य संस्थाहरूबाट सरकारी सेवा सुविधा सहित धरान नगर बासीलाई स्वास्थ्य सेवा उपलब्ध हुने गर्दछ । स्वास्थ्य संस्थाहरूमा आठौँ तहको मेडिकल अधिकृत दक्ष डाक्टर सहित छैटौँ तहका स्वास्थ्यकर्मीहरू, हेल्थ असिस्टेन्ट, अहेब लगायतबाट सेवा प्रवाह हुन्छ तर धरानवासी सरकारी स्वास्थ्य संस्थामा उपचार कालागि जाँदैनन् ।
धरानमा लकडाउनको बेलामा सामान्य स्वास्थ्य परीक्षण गर्नबाट समेत धरानवासी वञ्चित बने । स्वास्थ्य संस्थाहरूले कोरोनाको कारण सामान्य किसिमका बिरामीहरूको उपचार नै नगरेपछि सर्वसाधारणले सधैँ झैँ स्वास्थ्य सेवा सहजरुपमा लिन पाएनन् । अहिले पनि अवस्था उस्तै रहेको छ । धरान उपमहानगरपालिका भित्रै रहेको देशकै ठुलो मध्येको एक स्वास्थ्य संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा बन्द हुँदा सर्वसाधारणलाई स्वास्थ्य उपचारमा समस्या भएको थियो । अहिले ओपिडी सेवा सञ्चालनमा आएपनि पहिले जस्तो सहज तरिकाले स्वास्थ्य सेवा पाउन मुस्किल रहेको छ ।

Covid-Hospital-Dharan

सरकारी स्वास्थ्य सेवाहरूले लकडाउनको बेलामा सेवा प्रवाह गरे पनि सामान्य ज्वरो र पखालाको औषधी बाहेक खासै उपचार सेवा सर्वसाधारणले पाउन सकेनन् । लकडाउनको बेलामा सर्वसाधारणले स्वास्थ्यमा अरुबेला जस्तो पहुँच पुर्‍याउन सकेनन् ।

लकडाउनको कारण धरान उपमहानगरपालिकामा बालबालिकामा जन्मे देखि १५ महिना सम्ममा लगाउनुपर्ने खोप सेवा भने प्रभावित भयो । १ महिना खोप सेवा रोकिएको थियो । १ महिना पछि भने धरान उपमहानगरपालिकाले खोप सेवा सुचारु गर्ने निर्णय गर्दे यो सेवा सुचारु भयो ।

धरानमा कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा चुनौती :

धरान उपमहानगरपालिका अरू ठाउको तुलनामा स्वास्थ्यको हिसाबले संवेदनशील क्षेत्र हो । धरान उपमहानगरपालिका भित्रै रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पतालका कारण प्रदेश १ का विभिन्न जिल्लाहरूबाट कोरोना सङ्क्रमित धरानमा उपचारका लागि आउने भएकोले पनि कोरोनाको उच्च जोखिम क्षेत्र धरान भएको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

अझ उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा सङ्क्रमित बिरामी बाहिरै राखिनुले झन् अर्को जोखिम थपिएको छ । गत जेठ १७ गते झापाको कचनकवल गाउँपालिकाबाट पठाइएका २७ जना कोरोना सङ्क्रमितलाई अस्पतालले भर्ना नगरेपछि रातभर बाहिरै गाडीमै बसेका थिए । उपचारका लागि आइसोलेसनमा राख्नुपर्ने बिरामी लामो समय बाहिरै बस्नुले झन् जोखिम हुने बताइन्छ ।

धरान उपमहानगरपालिकामा अहिले सम्म २ जना मात्रै कोरोना सङ्क्रमित भेटिएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार १ जना भारतको मुम्बईबाट आएर धरानको १७ को एन्फा क्वारेनटाइनमा बसेका ३० वर्षीय पुरुष र धरान १३ की एक ५२ वर्षीय महिला बाहेक अरूमा कोरोना सङ्क्रमण देखिएको छैन । तर परीक्षणको दायरा कम हुँदा सङ्क्रमित कम देखिएको दाबी गरिँदै आएको छ ।

अहिले सम्ममा धरानमा आरडिटी २ सय ५० जनामा र थ्रोट स्वाब सङ्कलन गरी १ सय २५ जनाको मात्रै पिसिआर परीक्षण भएको छ । जस मध्ये एन्फा क्वारेनटाइनमा बस्ने १ जनामा कोरोना पोजेटिभ देखिएको थियो । धरानमा अत्यन्तै कम मात्रै कोरोना परीक्षण भएको छ ।

कम परीक्षण भयो भनिएको बेलामा अव धरान उपमहानगरपालिकाले धरान उपमहानगर भित्रका ३ प्रतिशत धरान नगरवासीको पिसिआर परीक्षण गर्ने तयारी गरेको छ ।

धरान उपमहानगर क्षेत्रमा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न फ्रन्टलाईनमा खटिएकाहरू, सरसफाईकर्मी, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिलाहरू, विदेशबाट आएका र कोरोना सङ्क्रमण प्रभावित क्षेत्रबाट आएकाहरूको कोरोना परीक्षण गरिने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताए ।

कोरोना परीक्षणका लागि भिटिएम, पिसिआर किट, पिसिआरका विभिन्न टिप्सहरू खरिदका लागि खरिद प्रक्रिया धरान उपमहानगरपालिकाले अगाडी बढाई सकिएको छ । धरान उपमहानगरपालिकाले खरिद गर्न चाहेको सामाग्रीको बोलपत्र आव्हान गरी असार १५ सम्ममा खरिद गरी सक्ने धरान उपमहानगरपालिकाले जनाएको छ ।

धरान उपमहानगरपालिका भित्र १ लाख ६९ हजार जनसङ्ख्या रहेकोमा धरान बाहिरकाको पनि धरानमा बसोबास रहेकाले २ लाखको हाराहारीमा रहेको जनसङ्ख्याको २ देखि ३ प्रतिशत करिब ७ हजार धरानवासीको फ्रन्टलाईनमा रहेका र जोखिम नजिक रहेकाहरूको कोरोना परीक्षण गरिने छ ।

यसै गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ७ हजार भन्दा बढी पिसिआर परीक्षण भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ७ हजार ३ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ । ती मध्ये ७ हजार १ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय ८ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको छ । धरानका २ जना बाहेक सबै धरान बाहिरकाहरुको पोजेटिभ देखिएको हो । प्रतिष्ठानमा अझै ७२ जनाको उपचार भइरहेको छ । हालसम्म प्रतिष्ठानबाट १ सय १५ जना व्यक्तिहरूको उपचार पश्चात् निको भएर डिस्चार्ज भइसकेका छन् ।

धरानमा कम मात्रै कोरोना परीक्षण हुनु सरकारले परीक्षण सामाग्री कम उपलब्ध गराउनु र स्वास्थ्य सुरक्षाको सामाग्री पिपिई नपठाइनुले पनि हो । कोरोना परीक्षणको दायरा बढाउन सके धरानमा स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसको नियन्त्रणमा थप सहयोग पुग्ने देखिन्छ । अहिले आएर कुनै लक्षण विना नै कोरोना सङ्क्रमित भेटिनु अत्यन्तै जोखिम र चुनौती रहेको कोरोना उपचारमा संलग्न डाक्टरहरू बताउँछन् ।

कोरोना सम्बन्धी शिक्षा र चेतनाको कमी :
धरान उपमहानगरपालिकाले कोरोना सङ्क्रमण फैलिन नदिनका लागि धरान बाहिरबाट आउनेहरूलाई क्वारेनटाइनमा राख्दै आएको छ । सुरुवातमा धरान १३ स्थित सैनिक आवसिय महाविद्यालयमा क्वारेनटाइन धरान उपमहानगरपालिकाले तयार गरेको थियो । त्यहाँ २४ जना विदेशबाट र कोरोना आशङ्का गरिएकाहरूलाई राखिएको थियो । उनीहरूको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।

ANFA-Acadamy-Dharan-17

सैनिक आवसिय विद्यालयमा रहेको क्वारेनटाइन स्थलमा विद्यालय मर्मत गर्नुपर्ने भएको भन्दै धरान १७ एन्फा एकेडेमीमा ६१ बेडको क्वारेनटाइन तयारी गरिएको छ । एन्फा क्वारेनटाइनमा अहिले सम्म १ सय ६० जना भर्ना भएका थिए । जस मध्ये अहिले सम्म १ सय १३ जना डिस्चार्ज भइसकेका छन् । अहिले एन्फा क्वारेनटाइनमा ४७ जना रहेका छन् । पछिल्लो समय विदेशबाट आउनेहरूको सङ्ख्या वृद्धि भएसँगै धरानमा अर्को थप क्वारेनटाइन निर्माण गर्नका लागि धरान १५ नबज्यती स्कुलमा तयारी गर्दा स्थानीयले विरोध गर्दा अहिले सम्म सो क्वारेनटाइन सञ्चालनमा आउन सकेको छैन ।

यसरी सर्वसाधारणले कोरोना र क्वारेनटाइन नबुझ्दा समस्या आउने गरेको छ । क्वारेनटाइन निर्माण गर्नु आफैमा स्वास्थ्य सतर्कता हो । क्वारेनटाइन बनाएर क्वारेनटाइनमा आशङ्का गरिएकाहरूलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण समुदायमा सर्ने जोखिम नहुने भएकोले क्वारेनटाइन समुदायकै हितको लागि भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ बताउँछन् ।

अझै पनि सर्वसाधारणले कोरोना र क्वारेनटाइन नबुझ्दा समस्या भएको छ । यसका लागि समुदाय स्तर सम्म पनि स्वास्थ्य चेतना बढाउन अत्यन्तै जरुरी रहेको छ । यदि यसो हुन सक्यो भने मात्रै कोरोनाको जोखिमको न्यूनीकरणमा सहयोग मिल्ने छ ।