धरान : गएको २४ घण्टामा विभिन्न जिल्लामा ३ सय ३१ जना थप कोरोना सङ्क्रमित थपिएका छन् ।

पुरुष २ सय ८२ र महिला ४९ गरी ३ सय ३१ जना थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ हजार ६ सय ५ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

प्रदेश १ मा ११ जना सङ्क्रमित थपिए
प्रदेश १ मा थप ११ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

शनिवार मोरङ सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना सङ्क्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । झापाको गौरीगञ्जमा एक जना र सुनसरीको कोसी गाउँपालिकामा २ जना महिलामा शनिवार कोरोना सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ३० पुगेको छ । उनीहरूमध्ये २ सय ३४ जना डिस्चार्ज भएका छन् ।