धरान : धरान १५ बस्ने विमला तामाङ सेउती खोला बगरमा आइतबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

धरान १५ फूलबारी टोल बस्ने अन्दाजी ५० वर्षीय तामाङ मृत अवस्थामा खोलामा केटाकेटीहरूले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार मृतकको साथमा केही तरल पदार्थ बोकेको गिलास, चक्कु र छोराहरूलाई सम्बोधन गरिएर लेखिएको पत्र भेटिएको थियो ।

मृतकले बमेट गरेको पाइएकोले उनले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिएको भए पनि यसको अनुसन्धानका लागि पोस्टमार्टम रिपोर्टले बताउने प्रमुख डिएसपी बस्नेतले बताए । मृतकको साथमा भेटिएको पत्रमा छोराहरूलाई जग्गा १,१ कठ्ठा बाँड्नु र मेरो शवलाई बाउको छेउमा गाड्नु भनी छोराको फोन नं. समेत उल्लेख गरेको भेटिएको प्रहरीले जनाएको छ ।

मृतक तामाङको शव उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा पोस्टमार्टमका लागि राखिएको छ ।