धरान : प्रदेश नं १ का मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरूले कोभिड १९ का कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा पर्ने प्रभाव विरुद्ध एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री शेरधन राईले प्रदेशले आपतकालिन बाल उद्धार कार्यक्रमको घोषणा गरिसकेकाले अब कोहि पनि बालबालिका अप्ठ्यारोमा नपर्ने बताएका हुन् । मुख्यमन्त्री राईले आत्मनिर्भर छोरी कार्यक्रम र प्रदेश सरकारसँग बालबालिका भन्ने कार्यक्रमले बालबालिकालाई अधिकार सम्पन्न गराउने बताए ।

वल्र्डभिजन इन्टरनेशनल नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घले सीआईएन नेटवर्क मार्फत आइतबार गरेको मुख्यमन्त्री, स्थानीय तहका प्रतिनिधि र सरोकारवालाहरूसँगको कोभिड १९ मा बालबालिका विषयक छलफलमा मुख्यमन्त्री राईले सामुदायिक रेडियो मार्फत दूर शिक्षा दिनको लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

यस्तो विपत्तिको अवस्थामा बाल वालिकाको अधिकारका लागि तीनै तहका सरकार र सरकारी गैरसरकारी संस्थाबिचको सहकार्य आवश्यक रहेको गाउँपालिका महासङ्घका उपाध्यक्ष मेनुका काफ्लेले बताइन् । उनले विद्यालय खाली गर्ने कुराले बिद्यार्थीहरुका लागि नकारात्मक सन्देश गएको बताइन् ।

त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले स्रोतको अभावमा बालबालिकाको लागि छुट्टै कार्यक्रम गर्न नसकिए पनि बाल अधिकारमा नगरपालिका संवेदनशील रहेको बताए ।

यस्तै झापा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले बालबालिकाको मृत्युदर घटाउने कार्यक्रमलाई बजेटमा प्राथमिकता दिने बताउँदै, बालविवाह रोक्ने कार्यक्रम, विभिन्न लतमा लागेर दुर्व्यसनमा फसेकालाई बचाउने कार्यक्रमलाई प्रदेश सरकारसँग समन्वय गरेर निरन्तरता दिने बताए ।

भोजपुरको सडानन्द नगरपालिकाका मेयर वीर बहादुर राईले एफएम रेडियोबाट पढाउने कार्यक्रम सुरु गरेको बताउँदै बाल अधिकारको रक्षाका लागि रेडियो कार्यक्रम नै प्रभावकारी हुने बताए । वल्र्डभिजन इन्टरनेशनल नेपालका पुष्कर खातीले प्रदेश सरकारले ल्याएको दुई कार्यक्रम, आत्म निर्भर छोरी कार्यक्रम र प्रदेश सरकारसँग बालबालिका भन्ने कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन भएमा बाल अधिकारको क्षेत्रमा धेरै सफलता हात लाग्ने बताए ।

विद्यार्थी मानवराज बरालले दूर शिक्षा कार्यक्रमको नीति स्पष्ट हुनुपर्ने बताए । सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले बाल विवाह जस्ता कुरीतिको अन्त्य र यस्तो विपतको बेलामा बाल बालिकालाई पर्ने असरहरू कम गर्नको लागि सामुदायिक रेडियोहरू नै प्रभावकारी भैरहको बताए । उनले बाल वालिकाको सवाललाई तीनै तहका सरकारसँग जोडेर समाधान गर्ने कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने बताए ।