इटहरी  : असार ४ गते बिहीबार पूर्वाञ्चल बिश्वबिद्यालयको क्वारेन्टीनमा रहेका कोरोना सङ्क्रमित निको भएर घर फर्कने तयारीमा थिए । ३९ जना सङ्क्रमितको बिदाइको लागी कार्यक्रम नै आयोजना गरियो । कार्यक्रमको प्रमुख अतिथि थिए प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे ।

निको भएका बिरामीलाई पुष्प गुच्छा सहित बिदाइ गर्न घिमिरे क्वारेन्टीन नजिकै पुगे । भौतिक दुरीको ख्यालै नगरी उभिएकै ठाउँमा कार्यक्रम सम्पन्न भयो । कोरोना सङ्क्रमण फैलिइरहेको अवस्थामा सङ्क्रमित क्षेत्र भित्रै मन्त्री लगायत अतिथि हरुले लापरबाही गरेको देखिन्थ्यो । कुनै मञ्च नभए पनि कार्यक्रमको प्रमुख अतिथि थिए मन्त्री घिमिरे ।

त्यसभन्दा अगाडी प्रदेश १ को पहिलो कोरोना सङ्क्रमित क्षेत्र उदयपुरको भुल्केमा पनि अतिथि बन्न पुगेका थिए उनी । आवश्यक स्वास्थ्य सामग्री लिएर मुख्यमन्त्री शेरधन राई सहितको टोली भुल्के पुगेको थियो । सरकारको संयन्त्र परिचालन गरी कोरोना नियन्त्रण गर्नुपर्नेमा मन्त्री र सांसद भएपछि कोरोना लाग्दैन जस्तै गरी प्रस्तुत भइरहेको भन्दै आलोचना भएको थियो । त्यसपछि पनि विराटनगर स्थित कोभिड १९ विशेष अस्पतालबाट डिस्चार्ज हुने हरेक बिरामीको बिदाइमा पुग्छन् घिमिरे ।

त्यस्तै असार ६ गते शनिवार युनिभर्सल लर्डबुद्ध कम्पनीले सञ्चालन गरेको लर्डबुद्ध उच्चमाबी न्युरो अस्पताल विराटनगरको टिमलाई हस्तान्तरण गर्ने कार्यक्रम थियो । स्कुल बिक्री कार्यक्रमको प्रमुख अतिथि मन्त्री ! भनेर अनलाई खबरले समाचार प्रकाशित गरेको थियो ।

दुई व्यापारिक संस्था बिचमा साक्षी बन्न पुगेका हुन् घिमिरे । उनी कार्यक्रमको प्रमुख अतिथि मात्र बनेनन् निजी स्वास्थ्य संस्थामा ख्याति कमाएको स्कुलले निजी शिक्षामा पनि ख्याति कमाउनेछ भन्दै शुभकामना दिए ।

शुभकामना आफैमा गलत नभए पनि सामुदायिक विद्यालय र सरकारी अस्पतालको स्तर दिनानुदिन खच्कदै जानु र मन्त्री आफै निजी व्यापारिक संस्थाको साक्षी बन्नु लज्जास्पद देखिन्छ ।

घिमिरे मात्र हैन प्रदेश १ का मुख्यमन्त्री देखी सम्पूर्ण मन्त्रीहरू दैनिक जसो सामान्य पसल उद्घाटन देखी घर उद्घाटन गर्ने कार्यक्रमको समेत प्रमुख अतिथि बनेका छन् ।

कोरोना सङ्क्रमणको दर उच्च भइरहँदा सङ्क्रमित क्षेत्रको ख्यालै नगरी कार्यक्रममा सहभागी हुँदा मन्त्रीबाटै सङ्क्रमण फैलिने खतरा पैदा भएको छ ।