धरान : धरान १७ को एन्फा क्वारेनटाइनबाट आज ३८ जना डिस्चार्ज भएर घर जादैछन् ।

केही दिन अघि क्वारेनटाइनमा बस्ने ४५ जनाको थ्रोट स्वाब लिएर पिसिआर परीक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । पिसिआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आउने ३८ जनालाई आज डिस्चार्ज गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन् ।

आज डिस्चार्ज हुनेमा १ जना भोजपुर र २ जना खोटाङको रहेको बताइएको छ । यो समाचार तयार पारुन्जेल ३५ जना आ आफ्नो घर गइसकेको र बाँकी भोजपुर र खोटाङका जान तयारीमा रहेको बताइएको छ ।

धरान उपमहानगरपालिकाको एन्फा क्वारेनटाइनको बेड क्षमता ६१ मात्रै रहेकोमा हिजो राति मालदिभ्सबाट ५ जना, कुवेतबाट १ जना र भारतबाट २ जना गरी ८ जना थपिएकोमा बेड अभावको कारण राति ८ जनालाई होटलको क्वारेनटाइनमा लगेर राखिएको धरान उपमहानगरपालिकाले जनाएको छ । उनीहरूको १ दिनको खर्च नगरपालिकाले बेहोर्ने बताइएको छ । उनीहरूलाई आज पुनः एन्फा क्वारेनटाइनमा राखिने बताइएको छ ।

आज डिस्चार्ज भएकाहरू सँगै अव एन्फा क्वारेनटाइनमा १८ जना अझै क्वारेनटाइनमा रहेका छन् । होटलमा बस्ने पनि थपिएमा क्वारेनटाइनमा बस्नेको सङ्ख्या २६ पुग्ने छ ।