धरान : १३ बर्षकी नाबालिकालाई काममा लगाईदिन्छु भनी ललाई फकाई भारतमा पुर्‍याई बेचबिखन गरेको आरोपमा इटहरीका र सिन्धुपाल्चोकका युवालाई मानव बेचविखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

उत्तर प्रदेश रसलपुर भारतीय प्रहरीको सहयोगमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे १ घोडाथली घर भई हाल सुनसरी इटहरी २० तरहरा बस्ने २२ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखु घर भई हाल पोखरा बस्ने २८ वर्षीय प्रविन तामाङ रहेको ब्युरोका प्रवक्ता एसपी गोबिन्द थपलियाले बताए।

फागुन ९ गते घरबाट निस्केकी बालिकालाई काठमाडौंको ठमेलमा आफ्नो कोठामा राखि कृष्ण मगरले भैरहवा-सुनौली नाकाबाट पोखराबाट प्रविन आएर भारतको उत्तरप्रदेश राज्यको पिप्रा रसलपुर ओडओलियामा पुर्याएको पाइएको थपलियाले बताए।

उनीहरुले बालिकालाई डान्स अर्केस्ट्रामा लगाएको बालिकालाई बेचविखन गरेको सूचनापछि प्रहरीले खोजी सुरु गरेको थियो। उनीहरुलाई नेपाल ल्याएर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन,२०६४ अनुसार बढीमा २० बर्ष कैद र २० लाख जरीवाना अन्तगर्त कारवाही हुने थपलियाले जानकारी दिए ।

बालिकालाई अभिभावकको जिम्मा लगाएको छ भने  बालिकाले युवाहरुले  यौन दुर्ब्यावहार समेत गरेको बताएकी छिन ।