इटहरी : प्रेम सम्बन्धमा मनमुटाब आएपछि देखिने मानसिक समस्याको कारण आत्महत्याका घटना हुने गरेको अनुसन्धानले देखाएका छन् । यस्ता घटना नयाँ सुरुवात नभए पनि पछिल्लो समय यसको दरमा भने बढिरहेको पाइएको हो ।

प्रेम सम्बन्धमा तनाव भएकै कारण कति आत्महत्या भए भनेर अहिले सम्म यकिन तथ्याङ्क कसैसङ पनि छैन । तर पछिल्लो समय देखिएका केही प्रतिनिधि घटनाले प्रेम सम्बन्ध भित्रको कालो धब्बा उजागर गरेको छ ।

असार ७ गते उदयपुर बेलका नगरपालिकाकी श्वेता पोखरेलको आत्महत्या त्यसमध्येको एक मान्न सकिन्छ । विवाहको अन्तिम तयारीमा रहेकी उनले फुल मालाको अघिल्लो दिन आत्महत्या गरिन् । विगत दुई वर्ष देखी सुन्दरहरैचा १० का सबिन पराजुली सँगको प्रेम सम्बन्धमा थिइन उनी ।

प्रहरीले दिएको जानकारी अनुसार श्वेताले सबिनलाई विवाहको लागी आग्रह गरिन् । सबिनले तत्काल विवाह नगर्ने भन्दै उनलाई टारेपछि श्वेता परिवारले खोजेकै केटा सँग विवाहको अन्तिम तयारीमा थिइन् ।

परिवारले खोजेको केटा सँग बिहे गर्न लागेको थाहा पाए पछि सबिनले श्वेतासँग सम्बन्ध हुँदा खिचेका तस्बिर अरूलाई पठाउन थाले । सबिनले तस्बिर श्वेतालाई मात्र पठाएनन् विवाह गर्न तयार भएका युवालाई समेत त्यो पनि तस्बिरहरू पठाए । त्यसपछि उनले श्वेताको पुर्ववत सम्बन्धको कारण विवाह गर्न नसक्ने जानकारी गराए ।

त्यसैको आधारमा श्वेताले आत्महत्याको बाटो रोजेको देखिन्छ । पछि श्वेताको परिवारले दिएको निवेदनको आधारमा आत्महत्या दुरुत्साहनको मुद्दामा सबिन पक्राउ परिसकेका छन् ।

गत माघमा सप्तकोसीमा हाम फालेर इटहरीका राजेश बानियाले आत्महत्या गरे । १० वर्ष लामो प्रेम सम्बन्धमा तनाव आएपछि उनले आत्महत्या गरेका हुन् । उदयपुरकी एक युवती सँग लामो समय प्रेम सम्बन्धमा रहेका र पछि युवतीको अर्कै युवासँग विवाह हुने निधो भएपछि उनले आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नु अघि उक्त युवतीको फुल मालाको फोटो फेसबुकमा पोस्ट गर्दै उनले “१० वर्षभन्दा बढी मसँग रिलेसन राखेर अचानक कुनै कारण तिमीले अर्कै केटा सँग विवाह गर्न लागेको खबर देखेर आज बाच्ने दिन अन्तिम जस्तो लाग्यो” लेखेका छन् ।

गत पुसमा इटहरीकै एक किशोरीले पनि प्रेम सम्बन्धमा समस्या आएकै कारण आत्महत्या गरिन् । विगत १ वर्ष लामो प्रेम सम्बन्धमा तनाव आएपछि उनले आत्महत्या गरेको देखिन्छ । “तिमीसँग मिलेर संसार सजाउने दुनीया जित्ने मन थियो । तर तिमीले अर्कै सँग मिलेर मलाई नै हरायौ” भन्दै फेसबुकमा अन्तिम पोस्ट गरेकी थिइन् ।

माथिका केही प्रतिनिधि घटनालाई मूल्याङ्कन गर्दा प्रेम सम्बन्ध आत्महत्याको अर्को डरलाग्दो कारण बन्दै गइरहेको छ । प्रेम सम्बन्ध इगो राख्ने र देखासीखीमा रूपान्तरण हुँदै गएको समाजशास्त्री प्राध्यापक अर्जुन उप्रेती बताउँछन् ।

love-status

प्रेम सम्बन्धको कारण हुने आत्महत्या लामो समयको योजनामा भन्दा पनि तत्कालीन रूपमा देखापर्ने समस्याको कारण हुने गरेको उनको भनाई छ ।

‘धेरै खुसी भएका सम्बन्धहरू पनि टुट्छन् र तनावमा सम्बन्धहरू पनि लामो समय टिकेको देखिँदैन ।,’ उनी भन्छन्, ‘जब खुसीको सम्बन्ध समाप्त हुन्छ त्यसपछि मानी समा गहिरो मानसिक चोट पर्न जान्छ र उसले आत्महत्याको बाटो रोजेको देखिन्छ । दुखको सम्बन्ध भनेको सम्झौताको सम्बन्ध हो । यसमा धेरै इगो र प्रतिशोध लुकेको हुन्छ र त्यो आत्महत्यामा पुगेर ब्लास्ट हुन्छ ।’

मानसिक स्वास्थ्यको विषयको चर्चित वेबसाइट साईकोलोजी टुडेमा मनोवैज्ञानिक डाक्टर रोमियो वितेल्लीले पनि यस्तै तर्क गरेका छन् । सम्बन्धमा आएको तनावको कारण लामो समय देखी डिप्रेसनमा भएको व्यक्तिले आत्महत्या गर्न सक्ने उनले उल्लेख गरेका हुन् ।

सन् २०१७ मा प्रकाशित आलेखमा उनले यसको कुनै एउटै कारण नभए पनि लामो समय देखी सम्बन्धमा आएको असन्तुष्टि पोख्नको लागी आत्महत्या गर्ने गरेको तर्क प्रस्तुत गरेका छन् ।

‘धेरै रोमान्टीक सम्बन्धहरू टुटेपछि सम्बन्ध प्रतिको मोहको कारण डिप्रेसन हुन्छ । पुरानो सम्बन्धमा भएको सुरक्षाको अनुभूति, नजिकको शारीरिक सम्बन्ध, गर्वानुभुती, सन्तुष्टि, आत्मीयता जस्ता कुराहरू पुनः नपाउने विश्वास हुन्छ । त्यही विश्वास बढ्दै जाँदा आफै प्रतिको प्रेम र सहानुभूति हराउन थाल्छ र पछि आत्महत्याका रूपान्तरण हुन्छ,’ आलेखमा भनिएको छ ।

सम्बन्ध सकिएपछि सबैथोक सकियो भन्ने मानसिकताले यस्ता घटना हुने गरेको वितेल्ली बताउँछन् । सम्बन्ध सकिएसङै जीवन सकिँदैन भन्ने बुझ्न सक्ने क्षमताको अभाव आत्महत्याको प्रमुख कारण भएको उनको भनाई छ । यसमा उच्च मनोबलको कमी र मनोसामाजिक चिन्तनलाई समस्याको रूपमा वितेल्लीले लिएका छन् ।