धरान : धरान-२० विष्णुपादुकामा गाँजा र जंगली जनवारको सिङ्ग र प्वाँख ओसारपसार गर्नै तीन जनालाई धरान प्रहरीले मंगलबार साँझ ट्याम्पोसहित पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका १ छिन्ताङ घर भई हाल सुनसरीको धरान ११ सीमानाचौक बस्दै आएका २९ वर्षीय नन्दीमान राई, सहिदभूमी १ घर भई धरान ११ बस्दै आएका १९ वर्षीय दिनेश भनिने सविन राई र उदयपुर कटारी नगरपालिका २ ताप्ली घर भई धरान ११ बस्दै आएका २० वर्षीइ सागर राई रहेको धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

नन्दीमानले ट्याम्पो चलाएको बिष्णुपादुका हुँदै धरान तर्फ यात्रु समेत लिई जादै गरेको को २ ह ५४४७ ट्याम्पोलाई शंका लागि रोकी जाँच गर्दा सो ट्याम्पोको पछाडी यात्रु बस्ने गरेको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा दुई वटा पोका बनाएको अवस्थामा २४५ ग्राम गाँजा र कालिजको कालो रंगको प्वाँख सानो ठूलो गरी १८ वटा, जंगली जनावर घोरलको सिङ जस्तो देखिने ४ थान र कस्तुरीको २ थान सिङ बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

उनीहरूलाई लागूऔषध कारोबार ऐन र जंगली जनावरका प्वाँख साथै सिङ ओसारपसार गरेको अभियोगमा धरान तीनकुनेस्थित सेक्टर वन कार्यालयलाई कागजात बुझाइएको बस्नेतले बताए ।