काठमाडौं : हरेक वर्ष आफ्नो जन्मदिन विशेष ढंगले मनाउने पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष जन्मदिन नमनाउने भएका छन्।

असार २३ गते ७४ वर्ष लाग्ने ज्ञानेन्द्रले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संकटलाई मध्यनजर गर्दै जन्मदिन नमनाउने भएका हुन्। बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै ज्ञानेन्द्रले यस्तो जनकारी गराएका हुन्।

‘राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको छु’, उनले विज्ञप्तिमा लेखेका छन्, ‘साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई धैर्य, दृढता र साहसका साथ अगाडि बढ्न आह्वान गर्दछु।’