धरान : सप्तरीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा आमा छोराको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका -७ स्थित कल्याणपुर बजारमा स १ झ ७८७ नम्बरको जिपले आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

मृत्यु हुनेमा खड्ग नगरपालिका-५ निवासी ६५ बर्षीया सुधनीदेवी देवी दास र ३७ बर्षीय वीरेन्द्र दास छन् । ठक्कर दिने गाडी कञ्चनरुप नगरपालिकाको हो । लहानबाट कञ्चनरुपतर्फ आउने क्रममा जिपले ठक्कर दिएको हो ।

भारतीका अनुसार मृत्यु भएकाको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिइएको छ ।