धरान : इलाका प्रहरी कार्यालय धरानले बुधबार राति ११ बजे नेकपा विप्लव समुहको सुनसरी जिल्लाका ईञ्चार्ज रोशन राईलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा नेकपा विप्लव समुहको सुनसरी जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहेका राईलाई प्रहरीले पक्राउ गरेको हो । धनकुटा शहिदभुमी गाउँपालिका- ६ का राई बुधबार दिउँसो नै धरान -१५ आएर रामहंस मार्गमा बसेका थिए ।

राई बसेको घरका घरमुलि पनि विप्लवको सदस्य रहेको हाल केन्द्रिय काराकारमा रहेको स्थानियले बताउँदै प्रहरीलाई खबर गरेका थिए ।

एक नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले राति ११ बजे  टिभी हेरेर बसेका राईलाई पक्राउ गरेको थियो । घरमुलिको बारे थप अनुसन्धान भैरहेकाले घरमुलिको नाम नखुलाएको धरान प्रहरीले बताएको छ ।

पक्राउ परेका उनलाई सोधपुछ गर्ने क्रममा रामहंस मार्गमा पार्किङ गरी मोटरसाईकल राखेको बताएको प्रहरीले जनाएको छ ।  प्रदेश ३ - ००१ प ६६७ को २०० सी सीको मोटरसाईकल तलाशी लिने क्रममा मोटर साईकलको सिट खोली हेर्दा पछाडी सिट मुनी मोटरसाइकलको सिट मुनी प्लाष्टिक भित्र लुकाएको अवस्थामा हतियार र गोलीसमेत वरामद भएको धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

उनको साथबाट मेडि इन युएसए अटोमेटिक पेस्तोल एक थान म्याग्जीनमा लोड भएको ३ राउण्ड गोली र, २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको छ । पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको डिएसपी बस्नेतले जानकारी दिए ।