धरान : झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा कुटाकुट हुदा गाउँसभाका केही सदस्यले गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेकाछन ।

घटनामा कुटाकुट हुदा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् । अध्यक्ष लिङ्गदेनले गाउँसभा बिथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेबल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको बताए ।

नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् । विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा विसर्जन समेत नगरी बाहिरिएका थिए ।

त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमति सिर्जना भएपछि एकैपटक आक्रमण सुरु भएको उनको भनाइ छ ।

गाउँपालिकाका वडा नम्बर- ३ का अध्यक्ष त्रिलोचन सापकोटा भने अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको बताउँछन् । उनले अध्यक्ष लिङ्गदेनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको भन्ने आरोपको औचित्य पुष्टि गर्न पनि चुनौती दिए ।

गाउँपालिकामा मागसहितको ज्ञापनपत्र बुझाउने बहानामा आएका व्यक्तिहरूले एक्कासी ढुङ्गामुढा गरेको अर्का एक जनप्रतिनिधि बताउँछन् । 

हल्दिबारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्यअनुसार काम गर्न नपाएको नेकपा पक्षको आरोप छ।