धरान : आकाङ्क्षा नेपालले महिलाहरूलाई उद्यमशीलता विकास तालिम प्रदान गरेको छ ।

बुधवार सृजनशील नेपाल धरान ६ को सभा हलमा तालिम सम्पन्न भएको थियो । उद्यमी महिलाहरूबाट समृद्ध समाजको विकास गर्न लक्ष्य हासिल गर्न सकिन्छ भन्ने धारणाका साथ तालिम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

सहभागीहरूमा उद्यमशीलता अभिवृद्धि गर्नु तालिमको उद्देश्य रहेको थियो । तालिममा उद्यमशीलता र व्यवसायको अवधारणाको बारेमा चर्चा गरिएको थियो । उद्यमशीलताले नाम र दाम कमाउन सहयोग गर्दछ त्यसका लागि सृजनशील कामको आवश्यकता पर्दछ भन्ने विषयमा छलफल भएको थियो ।

नयाँ व्यवसाय सृजना, अवसर को विश्लेषण, स्रोत व्यवस्थापन, बजारको खोजी सम्बन्धी विषयमा तालिम केन्द्रित रहेको थियो । महिला विकासमा प्रभाव पर्ने मुख्य कुरा सम्पत्ति र निर्णायक तहमा महिलाको पहुँच रहेको विषयलाई प्रशिक्षकहरूले जोड दिएका थिए ।

समाज र परिवारको अभिन्न अङ्गको रूपमा रहेको महिलाहरूको विकासमा उद्यमशीलता तालमेल महत्त्वपूर्ण प्रभाव पर्ने र महिला भित्र अन्तर्निहित सम्भावना उजागर हुने कुरा आकाङ्क्षा नेपालका अध्यक्ष रत्न राईले बताए । तालिममा सहभागी हुँदा हरेक कामलाई कसरी उत्पादनमूलक र आयमूलक बनाउन सकिन्छ भनेर तालिमले आफूहरूलाई सोच्न सक्ने बनाएको सृजनशील नेपालकी सचिव सरस्वती बस्नेतले बताए ।

आफ्नो घर र समुदाय भित्र रहेको अवस्थालाई विश्लेषण गरेर नयाँ व्यवसाय सृजन गर्न आफूहरू प्रेरित रहेको सहभागी राम विष्टले बताए । सृजनशील नेपाल धरान ६ का २५ जना सहभागी भएका थिए । तालिमको सहजीकरण मोहन श्रेष्ठ र अर्चना ढकाल र विष्णु बरालले गरेका थिए ।