धरान : कोरोना सङ्क्रमणले मृत्यु भएको सङ्ख्या भन्दा पनि नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढी रहेको पाइएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउन अवधिभरि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भन्दा पनि आत्महत्या गर्नेको संंख्यामा वृद्धि भएको पाइएको छ ।

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ जना पुग्दा सरकारले गरेको लकडाउनको अवधिभरि नेपालमा १ हजार ९३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

लकडाउनको अवधिमा खुलेर कहीँ जान नपाउनु, साथी भाइसङको भेटघाट निरन्तर नहुनु, काम धन्दा चौपट भए पनि बिहान बेलुका छाक टार्न धौ धौ हुनु, करोडौँ ऋण लिएर चलाएको व्यवसायमा पूर्ण रूपमा बन्द हुँदा ऋण थपिँदै जानु लगायतका विविध कारणले यो अवधिमा सङ्क्रमण भन्दा आत्महत्या भयावह अवस्थामा देखिएको मनोचिकित्सकहरू बताउँछन् ।

गएको चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउनको समयमा सुनसरीमा मात्रै ५७ जनाले आत्महत्या गरेका छन् । त्यस मध्ये धरानमा मात्रै १८ जनाले आत्महत्या गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार सबै भन्दा बढी विभिन्न, पारिवारिक समस्या, दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । चैत्र १३ गते देखि यता धरानमा १४ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरूमा १३ वर्ष उमेरका बालबालिका देखि लिएर ४० वर्ष उमेर समूहका मानिसहरू १३ जना रहेका छन् भने ४० वर्ष देखि ८५ वर्ष उमेर समूहका ५ जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार सबै भन्दा बढी पारिवारिक कलहका कारण आत्महत्या भएको छ । त्यस पछि दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । उहाँले लकडाउनकै कारण आत्महत्या गरेको नखुले पनि यो समयमा हेर्ने हो भने एक किसिमको तनावकै कारण, बाहिर घुमफिर बन्देज हुँदा घरमै बस्नुपर्ने बाध्यता जस्ता कुराले मानसिक तनाव भई आत्महत्या गरेको हुनसक्ने उनले बताए ।
लकडाउनको समयमा सबै किसिमका सेवा सुविधाहरू ठप्प छन् । सामाजिक रूपमा घुलमिल नहुँदा, आफ्नो समस्याहरू समाधान गर्न नसक्दा तनाव बढ्दै गए पछि मानिसहरूले आत्महत्या गर्ने गरेको पाइएको छ । मनोरञ्जन तथा सामाजिक रूपमा सक्रिय नहुँदा तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्न सक्ने मनोचिकित्सकहरूको भनाई छ ।

कतिपय अवस्थामा औषधी खाइरहेको बिरामी जसले यो लकडाउनको कारण औषधीका लागि पहुँच नपुगेको अवस्थामा तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या गरेको हुन सक्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता तथा मनोचिकित्सक डा. निदेश सापकोटाको भनाई छ । तनावहरू व्यक्त गर्न नपाउनु, विद्यालय बन्द हुँदा साथीभाइसँग भेटघाट नहुनु जस्ता कारणले धेरै मानसिक रोगहरू बल्झिने, नयाँ मानसिकहरू उत्पन्न हुन सक्ने सम्भावनाहरू रहेका कारण लकडाउनका समयमा आत्महत्याको घटना बढेको हुनस्क्ने डा. सापकोटाको भनाई छ ।

दैनिक जसो आत्महत्या र हत्या प्रयासको घटना बढेको कारण प्रहरीलाई समस्या भइरहेको छ । तनावको कारण मानिस डिप्रेसनमा जाने र यो नै आत्महत्याको प्रमुख कारण पनि बन्दै गएको छ । आत्महत्या गर्नेको सङ्ख्या बढ्दै जानुले समाजमा पनि नकारात्मक सन्देश फैलिँदै गएको छ । त्यसलाई निरुत्साहित गर्न समाज, परिवार नै सचेत हुन जरुरी रहेको मोनोचिकित्सकहरुको सुझाव छ ।