धरान : नेपाल कम्युनिस्ट पार्टीका मेची कोशी ब्युरोले आफ्नो पार्टीका सुनसरी जिल्ला इन्चार्ज रोशन राई ‘निश्चल’लाई रिहाइ गर्न माग गरेको छ ।

असार १० गते आफन्तको घरमा बसिरहेको बेला प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनाशर्त रिहाईको माग गरेका हो ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ब्युरो इन्चार्ज प्रतापले कोरोना महामारीका कारण मानव समुदायले ठुलो विपत्ति झेलिरहेको बेला सामान्य मानवियतालाई पनि ख्याल नगरी सरकारले राती सुतिरहेको बेला डकैती शैलीमा आफ्ना कार्यकर्ता गिरफ्तार गरेको बताएका छन् । विज्ञप्तिमा सरकारले नै समाजमा आतंक र हिंसा मच्चाउन खोजिरहेकोले यस्ता कदम बन्द गर्न माग गरिएको छ ।

इलाका प्रहरी कार्यालय धरानले बुधबार राति ११ बजे नेकपा विप्लव समुहको सुनसरी जिल्लाका ईञ्चार्ज रोशन राईलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको डिएसपी बस्नेतले बताए ।